अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमानदार भएर काम गर्ने हो भने देशलाई अघि बढाउन सकिन्छ: युवराज ज्ञवाली

इमानदार भएर काम गर्ने हो भने देशलाई अघि बढाउन सकिन्छ: युवराज ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सत्ता र शक्तिमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नराम्रोसँग बिग्रिएको बताउनु भएको छ।

सत्तामा नपुग्दासम्म त्याग गरेको मानिसहरु सत्तामा पुगेपछि बिग्रने गरेको इतिहास सुनाउनु हुँदै उपाध्यक्ष ज्ञवालीले प्रधानमन्त्री प्रचण्डमा सोही कुरा लागू भएको बताउनुभयो।

मोतीदेवी स्मृति केन्द्रको १३औँ वार्षिक साधारण सभाको अवसरमा आज स्वयम्भूमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले विश्वमा यस्ता घटना प्रशस्तै देखिएका बताउनुभयो। उहाँले भन्नुभयो, ‘सत्तामा नपुग्दासम्म जीवन समर्पित गर्ने त्यागी, समर्पित मान्छेहरू पनि सत्ता र शक्तिमा पुगेपछि निजी स्वार्थमा केन्द्रित हुने प्रवृत्ति संसारभरीको इतिहासमा हामी देख्छौँ ।’ उहाँले यस्ता खालका विकृति र समस्या कुनै एउटा पार्टी वा नेपालमा मात्र होइन, विश्व भरि नै देखिएको बताउनुभयो ।

सत्ता र शक्तिलाई आफ्नो हित र स्वार्थमा प्रयोग गर्ने कि देश र जनताको हितमा प्रयोग गर्ने भन्ने प्रश्न विश्वभरि नै गम्भीर रूपमा देखिएको ज्ञवालीले बताउनुभयो । ‘यो शक्तिलाई आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दै जाँदा पार्टीहरू खत्तम भएका, नेहरु खत्तम भएका उदाहरणहरू हामी विश्वभरि देख्न सक्छौँ, हाम्रो देशमा पनि त्यही समस्या हो’, उहाँले भन्नुभयो ।

२००७ सालको परिवर्तन अघि नेपाली कांग्रेसमा जुन खालको त्याग, तपस्या र बलिदान थियो सत्तामा गएपछि कांग्रेसले त्यो सबै गुमाएको उहाँले सुनाउनुभयो।

अहिले इमानदार भए पुग्नेमा त्यसमा समेत खडेरी परेको उहाँको भनाइ छ । देश र जताको हितको पक्षमा इमानदार भएर लागिदिए अहिले पुग्ने ज्ञवालीले बताउनुभयो। ‘अहिले इमानदारिताको आवश्यकता छ, निःस्वार्थ भावनाको आवश्यकता छ, निःस्वार्थ भएर, इमानदार भएर काम गर्ने हो भने हाम्रो देशलाई अघि बढाउन सकिन्छ’, उहाँले भन्नुभयो।

शक्तिमा पुगेपछि शक्तिको दुरुपयोग गर्ने र शक्ति र सत्ताको लागि झगडा र लडाइँले देश बरबाद भएको पनि उहाँले बताउनुभयो ।