अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवालाई विदेश पलायन हुनबाट रोक्न आधुनिक कृषि प्रणालीलाई जोड दिनुपर्छ: अध्यक्ष ओली

युवालाई विदेश पलायन हुनबाट रोक्न आधुनिक कृषि प्रणालीलाई जोड दिनुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडका जनताको बढ्दो बसाइँसराइ र युवाहरूको विदेश पलायन रोक्न आधुनिक कृषि प्रणालीलाई जोड दिनुपर्ने बताउनु भएको छ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बारे औपचारिक जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीलाई सङ्कल्प यात्राका क्रममा देखिएको पहाडको समस्या समाधान गर्न वा पहाडको जवानी कसरी जोगाउने ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले बसाइँसराई समस्या समाधान गर्न सरकार र राजनीतिक दलहरूले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो।

‘मध्य पहाडमा बिजुली, सडक, खानेपानी पुगेको छ’, ओलीले भन्नुभयो, ‘कमाएर खानै नपुग्ने अवस्था पनि होइन । तर पनि मानिसहरू बसाइँसराई हिँडेका छन् ।’

उहाँले यो अवस्था रोक्न व्यावसायिक र आधुनिक खेतीलाई प्रोत्साहन गर्न सक्नुपर्ने र जनतालाई निर्वाहमुखी पेसाभन्दा आम्दानी गर्ने गरी विकल्प दिनुपर्ने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेका विविध समस्याबारे काठमाडौँमा विज्ञसहित बसेर छलफल गर्नेछौँ। के कसरी अहिलेका समस्या समाधान गर्न कसरी सकिन्छ भनेर।’

बसाइँसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्न लागिएको उहाँले बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘बसाइँसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्दैछौँ।’

त्यस्तै, उक्त विज्ञ टोलीसँग पार्टीले कृषिमा आधारित उद्योगको बारेमा पनि छलफल गर्ने पनि उहाँले बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘कृषिमा आधारित उद्योगको बारेमा पनि छलफल गर्छौँ। राज्यस्तर र राजनीतिक दल सबैलाई विकासका लागि कसरी काम गर्ने कस्तो ढाँचाको कृषि प्रणाली गर्ने? भन्नेबारे पनि छलफल हुन्छ ।’

एमालेको सो यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आइतबार पत्रकार सम्मेलन आयोजना गरेको हो।

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डोत्तलन गरी सुरु भएको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो।

अभियान अन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो। १८ दिनसम्म चलेको अभियानको अन्तिम आमसभा भने मंसिर ३० गते पाँचथरको फिदिममा भएको थियो।