अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र जोगाउन निम्ति जनता जस्तोसुकै बलिदान तयार छ: अध्यक्ष ओली

लोकतन्त्र जोगाउन निम्ति जनता जस्तोसुकै बलिदान तयार छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कसैले चाहेर लोकतन्त्रको जग हल्लाउन नसक्ने बताउनुभएको छ ।  

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तो सुकै त्याग र बलिदान गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो ‘लोकतन्त्र प्रति जनता आश्वस्त छ, विश्वस्त छ, लोकतन्त्र प्रति जनताको असाधारण विश्वास छ, लोकतन्त्र जोगाउनका निम्ति जनता जे सुकै गर्न पनि तयार छ।’  

यात्राको माध्यमबाट नेकपा एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताउनुभयो। जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताउनुभयो।

जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको ओलीले बताउनुभयो । यात्राका क्रममा समस्या पहिचान र सम्भावना प्रकट भएका ओलीले प्रष्ट पार्नुभयो। 

वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा गइरहेको ओलीले बताउनुभयो । देशमा धेरै समस्या भएका भर्खरै एनसीएलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको उहाँको भनाई छ । खरबौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही स्विकार्न नसकिने ओलीले बताउनुभयो ।