अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ: महेश बस्नेत

आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताउनुभएको छ।

राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रिय युवा संघ नेपाल वा नेकपा एमाले कमजोर हुँदा अराजकता अझै बढ्दै जाने बताउनुभयो। हिजो एमाले विरुद्ध आक्रमण गर्दा प्रचण्डले आसिरवाद दिएका हर्क साङ्पाङ लगायतका अराजकतावादीहरू आज आफ्नो कार्यकक्षबाट प्रचण्डको फोटो हटाएर उहाँकै विरुद्ध खनिएका बस्नेतले बताउनुभयो।

मलाई बहुमत दिनुस् तपाईँहरूलाई जातीय राज्य दिन्छौँ भन्दै भाषण गर्ने प्रचण्डका विरुद्ध नै आज ती शक्ति खनिन लागेको बस्नेतको भनाइ छ। ‘प्रचण्डको आडमा एमाले माथि आक्रमण गर्ने साथीहरू आज प्रचण्ड माथि नै आक्रमण गर्न लागेका छन्’, उहाँले भन्नुभयो ।

अहिले ३२ सिटे प्रचण्ड प्रधानमन्त्री भएको बताउँदै बस्नेतले देशमा कुकुरले पुच्छर होइन पुच्छर हल्लाएको अवस्था रहेको बताउनु भयो । त्यसैले मुलुक अधोगति तर्फ गएको उहाँको भनाइ छ। देश जोगाउन र जनताका सुख दुःखमा राष्ट्रिय युवा संघ नेपाल जोडिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

हिमाल, पहाड, तराई र गाउँदेखि सहरसम्मका सम्पूर्ण १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको साझा संगठन तथा समुदायको हितको नेतृत्वकर्ता संगठनको रूपमा राष्ट्रिय युवा संघ नेपाललाई स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । समुदायको आवश्यकता, चाहना पुरा गर्ने भनेको नै कम्युनिष्ट रहेको उहाँले बताउनुभयो।

हिजो नेकपा एमालेले देश र जनताको हितमा लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै उहाँले त्यसको सही प्रचार गर्न सक्नु पर्ने बताउनुभयो। एमालेले गरेका कामको प्रचार सही हिसाबले गर्न नसकेकै कारण गएको चुनामा एमालले बहुमत ल्याउन नसकेको उहाँको भनाइ छ ।

आउँदो निर्वाचनमा एमाले एक्लैले बहुमत पुर्‍याउने उहाँले दाबी गर्नुभयो। गठबन्धन बनाएर च्याँखे दाउ थापेर एमाले सरकारमा नजाने उहाँले बताउनुभयो। एमाले दाउमा नै बसेर सरकारमा पुग्ने उहाँले दाबी गर्नुभयो। ‘दाउ लिएर बस्ने पार्टी नेकपा एमाले हो, त्यस पछि नेपाली कांग्रेस नै हो’, उहाँले भन्नुभयो ।

प्रचण्ड र माधव नेपालले अब आफूलाई कम्युनिष्ट पार्टी भनेको भरमा कसैले नपत्याउने उहाँले बताउनुभयो। त्यसैले उहाँहरूको पछि लागेका तलका नेता, कार्यकर्ता पनि एमालेमा नै आउने बस्नेतले स्पष्ट पार्नुभयो। उहाँहरूलाई पार्टीमा संगठित गर्नुपर्नेमा बस्नेतले जोड दिनुभयो।

असङ्ख्य खालका काला कर्तुत र अपराध गर्ने व्यक्तिहरूको नौटङ्की अब नेपालको राजनीतिमा नयाँ पार्टीको नाममा नचल्ने उहाँले बताउनुभयो। आफूलाई नयाँ भनिएकाहरूलाई जनताले राम्रोसँग चिनिसकेको बस्नेतले प्रष्ट पार्नुभयो ।

आउने निर्वाचनमा एमालेले बहुमत सहितको सरकार बनाउने र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने उहाँले घोषणा गर्नुभयो । राष्ट्रिय युवा संघ नेपालको अबको कार्यनीति यही भएको उहाँले प्रष्ट पार्नुभयो। एमालेले नै मुलुकको समृद्धिको लागि काम गर्ने उहाँले बताउनुभयो ।