अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली सर्वस्वीकार्य राजनेता, ओली जता-जता जनताको शक्ति त्यतै-त्यतै : राजेन्द्र गौतम 

केपी ओली सर्वस्वीकार्य राजनेता, ओली जता-जता जनताको शक्ति त्यतै-त्यतै : राजेन्द्र गौतम 


काठमाडौँ-नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतमले एमालेलाई राष्ट्रिय सफल र सुदृढ शक्तिको रूपमा अघि बढाउनु पर्ने बताउनुभएको छ । 

बिहीबार राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै गौतमले पार्टीले अघि बढाएको मिसन २०८४ मूल एजेण्डा पूरा गर्ने गरी लाग्नु पर्ने बताउनुभयो । ‘नेकपा एमालेको नेतृत्वमा बहुमत प्राप्त सरकार निर्माण गरेर मात्रै मुलुकको स्थायित्व, शान्ति, अग्रगमन सम्भव छ भन्ने कुरा तथ्यले प्रमाणित गरेको छ’, उहाँले भन्नुभयो । 

अहिले मुलुकमा रहेको पाँच गठबन्धनको सरकारले मुलुकमा शान्ति, स्थायित्व, अग्रगमन र सुशासन दिन नसकेको गौतमले बताउनुभयो । भ्रष्टाचार नियन्त्रणको नाममा एमालेको विरुद्ध डंका पिट्ने प्रयासमा लगेको गठबन्धन आफ्नै नेताहरू धमाधम पर्न लागेपछि प्रधानमन्त्री दश कदम पछि हट्नु भएको गौतमले टिप्पणी गर्नुभयो । 

आफ्नो छोरी प्रतिको जनताको आक्रोश र टिप्पणीलाई प्रचण्डले गणतन्त्र माथिको टिप्पणी ठान्न थालेको उहाँले बताउनुभयो । यो विडम्बनापूर्ण स्थिति रहेको उहाँको भनाइ छ । 

अहिले देशको आर्थिक स्थिति ओरालो लागेको उहाँले बताउनुभयो । ऋण खोजेर कर्मचारीलाई तलब खुवाउनु पर्ने स्थिति भएको उहाँको भनाइ छ । बजेट नभएर विकास निर्माणका काम ठप्प भएको गौतमले बताउनुभयो । 

एमालेको नेतृत्वमा भर्खरै मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा गर्दा जनताको विकास र समृद्धिको अपेक्षा भए पनि काहीँ पनि विकास र समृद्धिले गति नपाएको उहाँले बताउनुभयो । अहिले नेकपा एमाले सत्तामा नहुँदा पनि जनताको अपेक्षा नेकपा एमालेसँगै भएको उहाँले दाबी गर्नुभयो । ‘केपी ओली जता जता जनताको शक्ति त्यतै त्यतै छ, हाम्रो पार्टीको अध्यक्ष नेपाल राष्ट्रको सर्वस्वीकार्य राजनेताको रूपमा स्थापित भएको हामीलाई अनुभूति भएको छ’, उहाँले भन्नुभयो । 

अभियानको क्रममा सर्वदलीय बैठक गरेर केपी ओलीलाई विकास र समृद्धिको लागि ध्यानाकर्षण गराएको उहाँले स्मरण गराउनुभयो । नागरिकले यो सरकार असफल भएकोले सकिन्छ भने सरकार परिवर्तनको प्रयास गर्न समेत आग्रह गरेका उहाँले सुनाउनुभयो । 

अहिले यसको विकल्प छ त भनेर धेरैले सोधिरहेका बताउँदै गौतमले त्यसको विकल्प भएको बताउनुभयो । तर कांग्रेसले माओवादीलाई समातेर हिँड्दासम्म त्यो विकल्प नखुल्ने उहाँले सुनाउनुभयो । 

एमालेमा यति ठुलो जनलहर र समर्थन हुँदा हुँदै पनि गठबन्धन संस्कृतिको कारण एमालेको सरकार बन्न नसकेको गौतमले बताउनुभयो । 

सामान्य संसदीय नम्स अनुसार पनि सबैभन्दा ठुलो दलले  सरकार बनाउनु पर्नेमा तेस्रो दलले अहिले सरकार चलाइरहेको उहाँले टिप्पणी गर्नुभयो । ‘प्रचण्डको रोड म्यापमा जति दिनसम्म नेपाली कांग्रेस हिँडिरहन्छ, त्यति बेलासम्म अराजकता र अस्थिरता कायम हुन्छ, विकास निर्माण ठप्प हुन्छ’, गौतमले भन्नुभयो ।