अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक बिचारमा मतभेद हुनसक्छन् तिनलाई समाधान गर्ने बैधानिक बाटो छ

राजनीतिक बिचारमा मतभेद हुनसक्छन् तिनलाई समाधान गर्ने बैधानिक बाटो छ


झुलाघाट-चिवाभञ्ज्याङ यात्राको १३औं दिन आज यस ओखलढुंगा जिल्लाको हर्कपुरमा आइपुगेका छौं। यहाँ हामीले जुन मायाममता पायौ, आफ्नै भाइ छोरालाई जस्तै, आफ्नै घरका आफन्तलाई भन्दा बढी लामो समयको विछोडपछि पुनःमिलन भएको परिवारको सदस्य जस्तै अत्यन्तै आत्मिय माया प्रकट गर्नुभएको छ। स्वागत गर्नुभएको छ। त्यसका निम्ति म यहाँहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु।

हामीले १४ गते बिहान ८ः३० बजे झुलाघाटबाट प्रारम्भ गरेको यात्राको यी १३ दिनमा आमजनताको हरेक ठाउँमा, गाउँ-गाउँमा, बस्ती-बस्तीमा, शहरहरूमा, बजार-बजारमा जहाँसुकै पनि बाटाबाटामा, घर-घरका अगाडि समेत पनि अत्यन्तै उत्साहपूर्ण जनसहभागिता हामीले पायौं। झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा यहाँहरूको यो सक्रिय सहभागितालाई म सलाम भन्न चाहन्छु। यसको प्रशंसा गर्न चाहन्छु। यहाँहरू यस यात्रामा आफैं सरिक हुनुभएको छ। हामी डेढ दुई सय साथीहरू झुलाघाट-चिवाभञ्ज्याङको सम्पूर्ण यात्रा गरिरहेका छौं। केही हजार एउटा पालिकाबाट, केही हजार अर्को पालिकाबाट, केही हजार एउटा जिल्लाबाट, केही हजार अर्को जिल्लाबाट। दशौं हजार सभाहरूमार्फत छुट्टाछुट्टै स्वागत गरेर, अभिनन्दन गरेर, छुट्टाछुट्टै सहभागिता जनाएर हामी अघि बढिरहेका छौं। यसमा पर्याप्त नहुने देखेपछि केही ठाउँमा संयुक्त सभाको रूपमा यस अभियानमा आफ्नो संलग्नता जनाउनु भएको छ, सरिक हुनुभएको छ र यसका उद्देश्यप्रति समर्पित हुनुभएको छ। म सबैलाई धन्यवाद भन्न चाहन्छु। विभिन्न राजनीतिक दलहरू, संघ-संस्थाहरू, विकास आयोजनाका प्रमुख र अरू साथीहरू विभिन्नले यस अभियानमा सहभागिता जनाउनु भएको छ। आफ्ना आफ्ना ठाउँका समस्याहरू, कामहरू, कामका प्रगतिहरूका बारेमा बताउनु भएको छ। समस्या के छन् ? तिनको समाधान कसरी हुन्छ भन्ने कुरा पनि बताउनु भएको छ। हामीले यस बीचमा प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, किसान, मजदूर र अनेक व्यावसायीहरू, आर्थिक र सामाजिक जीवनका व्यक्तित्वहरूसँग पनि भेटघाट गरेका छौं। सबैका कुरा र समस्या सुनेका छौं। सुकुम्बासीका समस्या र कुरा सुनेका छौं। माझीहरूका कुरा सुनेका छौं। अनेक आयोजनाले पार्ने प्रभावका कुरा र जनताका कुराहरू सुनेका छौ र तिनको समाधानका लागि सुझावहरू पनि सुनेका छौं।

विभिन्न ठाउँका बाटाघाटाहरूको सन्दर्भमा, पूर्वाधार विकासको सन्दर्भमा, पुलहरू निर्माणको सन्दर्भमा सुनेका छौं। यहाँहरूले मिर्चैयादेखि घुर्मीसम्मको बाटोको कुराहरू गर्नुभएको छ। जो हामीलाई राम्रोसँग याद छ। मध्यपहाडी क्षेत्रलाई दुर्गम रहन दिनु हुँदैन भनेर हामीले मध्यपहाडी राजमार्गको दु्रततर विकासमा जोड दिएका हौं। अझै केही ठाउँमा यो राजमार्ग दूरावस्थामा रहेछ। यसलाई शीघ्राती रूपमा निर्माण गर्नु पर्ने, कहीं मर्मत सम्भार गर्नु पर्ने, कही स्तरोन्ती गर्नु पर्ने रहेछ। त्यो कुरा पनि हामीले देख्यौं। यससँग जोडिने अन्य सम्पर्क बाटाहरूको विस्तार र निर्माण गरिनु पर्ने रहेछ। यहाँको शैक्षिक र स्वास्थ्य क्षेत्रमा गरिनु पर्ने कामहरूको बारेमा पनि हामीलाई थाहा छ। यहाँहरूले दिनुभएका ज्ञापनपत्रहरूमा कटारीमा ५० शैयाको अस्पतालको कुरा गर्नुभएको छ। उदयपुरकै गाइघाटमा भएको अस्पताललाई स्तरोन्ती गरेर सय बेडको अस्पतालमा विकास गरिनु पर्ने माग गर्नु भएको छ। यस्ता थुप्रै कुराहरू छन्। हामी धेरै ठाउँमा पुग्यौं। युवाहरूका खेल मैदान र रंगशालासम्बन्धी मागहरू छन्। विभिन्न समुदायका कहीं सभाहलसम्बन्धी, कहीं सामुदायिक भवनसम्बन्धी, कही प्राविधिक र प्रशिक्षण, व्यवसायसम्बन्धी भवन बनाउनु पर्ने मागहरू छन्। ती मागहरूलाई हामीले बुझेका छौं। यहाँहरूले दिनुभएका ज्ञापनपत्रहरू, ध्यानाकर्षण पत्रहरूलाई हामी काठमाडौ फर्किएर गहनताका साथ अध्ययन गरेर मध्यपहाडी राजमार्ग, पुष्पलाल राजमार्ग र त्यसका आसपासका बाटाहरू, त्यहाँका विकास, त्यहाँको व्यवसाय, त्यहाँको हावापानी, त्यहाँको प्रकृति, कुन ठाउँमा कस्तो फसल, कहाँ कस्तो उद्योग गर्न सकिन्छ जस्ता कुराहरूको बारेमा हामी छलफल गर्ने छौं।

कतिपय ठाउँमा हाम्रा दिदीबहिनी दाजुभाइहरूले कृषिको, उद्योगको नयाँ ढंगले व्यवसायलाई अगाडि बढाउने काम गर्नुभएको छ। यस्ता साथीहरूबाट अरूले पनि सिकेर त्यसप्रकारका कामहरू नयाँ ढंगले अगाडि बढाउन आग्रह गर्दछु । निर्वाहमुखी मात्रै होइन, जीवन धान्ने मात्रै होइन, सन्तानको भविष्य समेत सुरक्षित सुनिश्चित हुनेगरी बचतको स्थितिमा पु¥याउन, सम्पन्नता हासिल गर्न, समृद्धि हासिल गर्न नयाँ प्रविधिको प्रयोग गरेर अघि बढ्ने बेला भएको छ। नेकपा एमाले बाहेक अरू कसैले यस कामको नेतृत्व गर्न सक्दैन। नेकपा एमाले मात्रै हो, जसले यस देशमा शान्ति सुव्यवस्था कायम गर्न सक्छ, भ्रष्टाचार नियन्त्रण गर्न सक्छ, तस्करी नियन्त्रण गर्न सक्छ, सुशासन दिनसक्छ। कानूनको राज, न्यायको राज एमालेले मात्रै दिनसक्छ। देशको हित, राष्ट्रको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन गर्न नेकपा एमालेले मात्रै गर्न सक्छ। यो कुरा व्यवहारले प्रमाणित गरेको छ, इतिहासले प्रमाणित गरेको छ। नेकपा एमाले जति बेला सरकारमा पुगेको छ, नेकपा एमालेले राष्ट्रिय हितको पक्षमा बोलेको छ, लडेको छ र उन्नति गरेको छ । प्रष्ट रूपमा गएको अढाइ वर्ष अगाडिसम्म नेकपा एमालेको सरकार लगभग साढे तीन वर्ष रहदा हामीले राष्ट्रियताको सन्दर्भमा, स्वतन्त्रता, स्वाधीनताको प्रयोग गरेर राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गरेका अनेक दृष्टान्तहरू छन् ।

इतिहासमा कसैले मेट्न नसक्ने, कसैले उपेक्षा गर्न नसक्ने त्यसप्रकारका कुराहरू छन्। विकासको सन्दर्भमा, पूर्वाधारहरू बाटाघाटा, पुल, एयरपोर्टको, केबलकारहरूको निर्माण, हवाइ मैदानहरूको निर्माण, राती नचल्ने हवाइ मैदानहरू राती चल्ने सुविधा पनि विकास गरेका थियौं। विद्युतीकरण र खानेपानीको व्यापकता, त्यसै गरेर कृषिको विकास। अघि मैले हेरें धानको पकेट क्षेत्र भनेर तोकिएको ठाउँ। हामीले सुपरजोन, जोन, ब्लक र पकेट भनेर छुट्याएका थियौ कृषिको विभिन्न प्रकारका उत्पादनका लागि। ८ वटा ठूलाठूला औधोगिक क्षेत्रहरू छुट्याएका थियौं। तर, अहिले ती सबै ठप्प छन्। निर्माणकार्य ठप्प छ, पूर्वाधार निर्माण ठप्प छ, विकासका कार्यहरू ठप्प छ, जनतालाई राष्ट्रियताप्रति मोटिभेट गर्ने, राष्ट्रियताप्रति दृढ बनाउने ती कुराहरू कम भएका मात्रै होइन, ती कुरातर्फ सरकारले जनतालाई सोच्न पनि दिंदैन। निराशा फैलाउने काम गर्छ । यो सरकारले देशभक्तिको भावना कमजोर पार्ने काम गर्छ, राष्ट्रिय एकताको भावना कमजोर पार्ने काम गर्छ । अहिलेको गठबन्धनको सरकार साम्प्रदायिकताको जगमा उठेको छ । त्यसकारण अहिले पनि साम्प्रदायिकतालाई बढवा दिएर भित्रभित्रै बढवा दिएर त्यस ढंगले चलेको अवस्था देखिन्छ। नेकपा एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने, त्यो सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र त्यो सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता र त्यो राष्ट्रिय एकताबद्ध प्रयासबाट देशको विकास नेकपा एमालेले मात्रै गर्न सक्छ। एमालेको त्यो नीति छ। त्यसकारण म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, भावनामा बग्नु हुँदैन र हाम्रा दाजुभाइ दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन। देश बनाउनका लागि बलियो एकता र सम्झदारी चाहिन्छ। जनताका बीचमा फाटो ल्याउने होइन, जनताका बीचमा एकता बनाउनु पर्छ। एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ। राजनीतिक विचारमा मतभेद हुनसक्छ, तर ती मतभेदहरूको समाधान गर्न वैधानिक प्रक्रिया छ। त्यस वैधानिक प्रक्रियाबाट, कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट गर्नु पर्छ । आवेश उत्तेजनामा होइन, सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नु पर्दछ। त्यस औचित्यको आधारमा समस्याहरूको समाधान खोज्नु पर्दछ । नेकपा एमालेको त्यो नीति छ। त्यसकारण म सबै दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु– कि हामी एकताबद्ध भएर राष्ट्र निर्माणको काममा लागौ।

यस जिल्लामा आउँदा मलाई अनेक शहीदहरूको याद आउँछ। चाहे गुरू लुइटेलको कुरा होस् चाहे अरू विभिन्न समयमा मारिएका, ज्यान गुमाएका, साहदत प्राप्त शहीदहरूको कुरा होस्। यस शहीद भूमि र संग्राम भूमिमा म सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। यो जुझारू र सचेत भूमि हो। पञ्चायत विरोधी आन्दोलन र अरू आन्दोलनमा यसको इतिहास छ। यति बेला फेरि देश अप्ठ्यारोमा परेको छ। अप्ठ्यारोमा परेको देशलाई अप्ठ्यारोबाट निकाल्ने तपाईं हाम्रो काम हो। त्यो तपाईं हामीले गर्नु पर्दछ। म आम जनतालाई, दिदीबहिनी दाजुभाइ तथा सबै देशवासीलाई भन्न चाहन्छु–हामी एकजुट भएर अगाडि बढौ, समस्या समाधान गर्न सकिन्छ। हामी विकास गर्न सक्छौं। समृद्ध नेपाल बनाउन सक्छौ, सुखी नेपाली बनाउन सक्छौं। यस कामको नेतृत्व नेकपा एमालेले लिन्छ, नेकपा एमालेले नेतृत्व गर्न सक्छ। म सबैलाई यस अभियानमा सरिक हुन अनुरोध गर्न चाहन्छु। यसका लागि हामीले मिशन ०८४ भनेका हौं। मिशन ०८४ एमालेका लागि भनेको होइन, मिशन ०८४ वास्तवमा यस देशका लागि आवश्यक छ । त्यो भनेको नेकपा एमालेजस्तो राष्ट्रिय शक्तिको रूपमा, सबल राष्ट्रिय शक्तिको एकल बहुमत र एकल सरकार। त्यसमा अरूलाई पनि सामेल गर्न सकिन्छ तर बहुमत एमालेको चाहिन्छ। यसर्थ नेकपा एमालेको बहुमतको सरकार बिना, सुदृढ राष्ट्रिय शक्ति बिना यो देश न स्वाभिमान, स्वाधीनता बचाउन सकिन्छ न सुशासन र विकास ल्याउन सकिन्छ, न समृद्धि हासिल गर्न सकिन्छ, न नेपाली जनतालाई सुखी बनाउन सकिन्छ। तसर्थ समृद्ध नेपाल, सुखी नेपालीका लागि पूर्वअभ्यासका रूपमा हामीले मिशन २०८४ भनेका हौं।

त्यसको पूर्वअभ्यासको रूपमा हामीले महाकालीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रा गरेका छौं । यसमा सबै खुशी हुनु पर्ने हो, सबै खुशी हुनु पर्दछ। हामीले यो कठीन यात्रा एकैपटक दुई हजार किलोमिटरभन्दा बढी हिंड्ने यात्रा अहिले नै हामी धेरै किलोमिटर हिंडिसकेका छौ, अझै धेरै किलोमिटर हिंड्ने छौ। यो कठीनाइ हामी किन उठाइरहेका छौ, यो वास्तवमा देश जाग्न पर्‍यो, तपाईं हामी जाग्न प¥यो, जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्‍यो। त्यसका निम्ति हो। मध्यपहाडी यात्रा कसैका विरूद्ध होइन । देशका पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा हो। त्यसकारण यसमा कसैले चित्त दुखाउनु पर्ने आवश्यकता छैन। यहाँ आइपुग्दा यहाँहरूको सजगता जुन पायौ, म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु। यहाँहरूले जस्तो भव्य सजगता देखाउनु भयो, त्यसका निम्ति यहाँहरूलाई धन्यवाद दिंदै आफ्नो भनाई टुंग्याउँछु र हामीहरू यहाँबाट प्रस्थान पनि हुन्छौ। धन्यवाद।

(मध्यपहाडी यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ मंसिर २०८० मा ओखलढुंगाको हर्कपुरमा व्यक्त गर्नु भएको मन्तव्यको सम्पादित अंश)