अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम एमालेले गर्‍यो: शङ्कर पोखरेल

सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम एमालेले गर्‍यो: शङ्कर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणाली विकास गरेको बताउनुभएको छ। 

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नागरिकले सहज जीवनको लागि आम स्वतन्त्रताले मात्र सक्दैन भने राज्यले संरक्षण गर्नुपर्छ भनेर एमालेले सो प्रणाली विकास गरेको बताउनुभयो ।

जसले राज्यको लागि योगदान गर्न सक्दछ उसले राज्यलाई योगदान गर्नुपर्ने र नसक्नेलाई राज्यले संरक्षण गर्नुपर्ने उहाँले प्रस्ट पार्नुभयो। महासचिव पोखरेलले भन्नुभयो, ‘बालबालिकालाई, ज्येष्ठ नागरिकलाई, एकल महिलालाई, अल्पसङ्ख्यकलाई, अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षा दायरामा समेट्नु पर्दछ भन्ने नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो।’ 

सामाजिक सुरक्षाको अवधारणा मूलतः विकसित मुलुकको अवधारणा भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तर नेपालमा, तेस्रो विश्वमा सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम नेकपा एमालेले नै गर्‍यो।’

अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्रमाणीकरण गरी सामाजिक सुरक्षा भत्ता कार्यक्रममा जोड्ने कार्य त्यसैको परिणाम भएको उहाँले बताउनुभयो । यद्यपि त्यसको दायरा फराकिलो बनाउन आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभयो। 

सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउनको लागि राज्य बलियो हुनु पर्ने उहाँले बताउनुभयो। कमजोर राज्यले सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउन र श्रोत वृद्धि गर्न नसक्ने पोखरेलको भनाइ छ। अहिले गठबन्धन सरकारले सामाजिक सुरक्षाको दायरालाई साँघुरो बनाउने र श्रोत घटाउने काम गरिरहेको भन्दै उहाँले आलोचना गर्नुभयो। सरकारले दिइरहेको सुविधालाई पनि बोझ ठानेको उहाँले बताउनुभयो । ‘यो प्रवृत्ति सामाजिक न्यायका हिसाबले अत्यन्त घातक छ’, पोखरेलले भन्नुभयो। 

एमाले सरकारमा हुँदा हरेक क्षेत्रमा केही न केही सकारात्मक परिवर्तन ल्याएको उहाँले बताउनुभयो। नेपाली हुँ भन्ने गर्व गर्ने अवस्था एमाले सरकारको पालमा भएको उहाँको भनाइ छ। नेपालको हितको पक्षमा छिमेकी मुलुकसँग पनि पारवहन सन्धिदेखि धेरै काम भएका उहाँले सुनाउनुभयो। पूर्वाधारको क्षेत्रमा त छलाङ नै मार्ने काम भएको उहाँले उदाहरण प्रस्तुत गर्नुभयो। 

पार्टी भित्र र बाहिरबाट पार्टी नै विभाजित गरेर एमालेको सरकार ढालिएको उहाँले बताउनुभयो। नेकपा एमालेलाई सिद्ध्याउने योजना अनुसार ती काम भएका पोखरेलले स्पष्ट पर्नुभयो। त्यो षडयन्त्रका विरुद्ध एमाले डटेर उभिएको उहाँले बताउनुभयो । 

अहिले गठबन्धन चुनाव जितेपछि जसरी पनि पाँच वर्षको लागि उभिनु पर्छ, जनतासँग गरिएको प्रतिबद्धता केही पनि होइनन् भन्ने हिसाबले लागेको पोखरेलले बताउनुभयो। त्यसैले उनीहरू जसरी पनि गठबन्धन जोगाउने खेलमा लागेका पोखरेलले बताउनुभयो । 

नेकपा एमाले अहिले जनताको रोजाइनको पहिलो पार्टी भए पनि मुलुकको आवश्यकताको हिसाबले एमालेको सामर्थ्य अझै कमजोर रहेको उहाँले बताउनुभयो । त्यसैले देशलाई, स्थिरता र बहुमतको सरकार दिन नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले प्रस्ट पार्नुभयो। 

जनताको प्रयासले नेकपा एमाले यो ठाउँमा उभिन सफल भएको बताउँदै उहाँले यतिले मात्रै नपुगेको बताउनुभयो। नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।