अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले अध्यक्ष ओलीलाई राष्ट्रियसभामा सहकार्यको प्रस्ताव गर्नुका तीन कारण

प्रचण्डले अध्यक्ष ओलीलाई राष्ट्रियसभामा सहकार्यको प्रस्ताव गर्नुका तीन कारण



काठमाडौं- राष्ट्रिय सभाका १९ सिटमा हुने निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको प्रस्तावका कारण अहिले सत्ता गठबन्धन िभत्र मनमुटाव बढेको छ । यो प्रस्तावले अविश्वास सृजना गरेपछि प्रधानमन्त्रीले यो प्रस्ताव आफूले नभइ एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको प्रचण्डको भनाइ बाहिर आएको छ । यता हिजोको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले प्रचण्डसँग कुनै प्रस्ताव नगरेको बरु एमालेले १९ वटै सिटमा एकल उम्मेद्वार दिने स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीको निर्देशन अनुसार नै सबै प्रदेश कमिटीहरुले पार्टी केन्द्रमा उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् ।
वर्षदिन अघि एमालेकै प्रस्ताव र समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले महिना दिन नबित्दै पुन काँग्रेससँगको सहकार्य गरेको सबैले सम्झेकै छन् । प्रचण्डको स्वभावै हो समानान्तर सम्बन्ध राखेर एउटाको विरुद्ध अर्कालाई प्रयो गर्ने । त्यही प्रयोगको अर्को संस्करणको रुपमा मजबुद बहुमतमा रहेका प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा निर्वाचनमा किन सहकार्यको प्रस्ताव गर्नु भएको हो ।
आखिर प्रचण्डले अध्यक्ष ओलीलाई राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग गठबन्धन गरेर जाने प्रस्ताव किन गर्नुभएको होला ? यसलाई वर्तमान सत्ताको आयुसँग दाँजेर विभिन्न कोणबाट छलफल गर्न सकिन्छ । जस मध्ये तीनवटा कारणले प्रचण्डले अध्यक्ष ओलीलाई गठबन्धनको प्रस्ताव गरेको बुझ्न सकिन्छ ।
पहिलो ः
प्रधानमन्त्री प्रचण्डले पटक पटक आफूले सरकार प्रमुख भएको ‘फिलिङ’ नगरेको बताउदै आउनु भएको छ । उहाँलाई यस्तो फिलिङ नेकपाको कार्यकारी अध्यक्ष हुँदा पनि भएको थियो । आफू कार्यकारी हुँदा पनि कार्यकारी भएको महसुष नहुनु प्रचण्डको पुरानो आदत हो । त्यसको कारण के हो भने आफ्नो आकार भन्दा ठुलो प्राप्ती गरेपछि सधैं आफैं माथी विश्वास नगर्ने । विगतमा एमालेसँग एकता गर्दा एमालेको आकार ७० र माओवादीको आकार ३० प्रतिशत थियो । नेकपा भित्रको सानो समुहको नेतृत्व गरेका प्रचण्डलाई एमालेको ठूलो तप्कालाई नेतृत्व गर्नुपर्दा ‘कार्यकारी फिलिङ’ नभएको हो ।
ठिक त्यसैगरी अहिले प्रचण्ड संसदमा ३२ सिट लिएर ८९ सिट भएको काँग्रेस माथी शासन गरिरहनु भएको छ । जसले गर्दा बेला बेला प्रच्ण्डलाई आफ्नो पार्टीको आयातन र आफूले पाइरहेको जिम्मेवारीले बेला बेला तर्साउछ । कहिलकाँही आफैं माथी विश्वास लाग्दैन । त्यसैले उहाँलाई सरकारको कार्यकारी प्रमुख भएको फिलिङ अहिले नभएको हो । त्यसैले उहाँ राष्ट्रियसभाको निर्वाचन मार्फत एमालेसँग सहकार्य गरेर काँग्रेसलाई ‘चेक’ दिन चाहनुहुन्छ । काँग्रेसका महामन्त्री गगन थापाले पटक पटक गठबन्धनको राजनीति अब नगर्ने भनेर सार्वजनिक भाषणमा दोहोर्याउनुहुन्छ । माओवादीका एक मन्त्रीका अनुसार केही दिन पहिला बालुवाटारमा भएको गठबन्धनको बैठकमा पनि थापाले यही कुरा दोहोर्याउनुभयो । त्यसको प्रत्यूत्तरमा प्रधनमन्त्री प्रच्ण्डले भन्नुभएछ ‘गगनजी पटक पटक गठबन्धन भारी भो । गठबन्धनले काँग्रेसलाई नोक्सानी भयो । गठबन्धन नगरौं भन्नुहुुन्छ । त्यसो हो भने पनि ठिकै छ । गठबन्धन नगर्न अर्को चुनाव हैन । आगामी राष्ट्रियसभाको निर्वाचनमा नै गठबन्धन नगरी एक्लाएक्लै चुनाव लडौं ।’ प्रधानमन्त्रीले यसो भनेपछि गगन नाजवाफ हुनुभएको थियो । गगनलाई यही शैलीको प्रत्युत्तर माओवादीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा दलका नेता इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जाल मार्फत दिनुभएको थियो ।
दोस्रो कारण
आफैं युद्धमा संलग्न भएकोले प्रचण्डलाई शान्ती प्रक्रिया (टिआरसी)का विषयको टुंगो लगाउनु छ । प्रचण्डलाई एउटा त्रास के छ भने फेरी फर्किएर प्रधानमन्त्री हुने हो कि होइन निश्चय छैन । त्यसैले आफू र आफ्ना कार्यकर्ता समेत फौजदारी अभियोग सरहमा मुछिने अपराधबाट मुक्ति पाउन प्रचण्डले एमालेको साथ खोज्नु भएको छ । त्यसका लागि राष्ट्रियसभामा एमालेलाई साथ लिएमा आफ्नो टाउकोमा रहेको ‘युद्ध अपराधी’को ट्याग हटाउन प्रचण्डले एमालेलाई साथमा लिन चाहनुभएको हो ।
तेस्रो कारण
प्रचण्ड यसै राष्ट्रियसभाको निर्वाचन मार्फत एमालेसँग नजिकिन चाहन्छन् । भावी दिनमा वाम एकता नगरी आफ्नो र पार्टीको भविष्य अनिश्चयको भूमरीमा छ भन्ने कुरा प्रचण्ड स्वंयलाई मात्र हैन उहाँपछिका नेतालाई पनि थाहा छ । त्यसैले एमालेलाई नचिढयाउने प्रचण्डको रणनीति छ । एमालेसँग गठबन्धन गर्नुपर्छ भन्ने मत माओवादीमा अहिले वर्षमान पुन,जनार्दन शर्मा र नारायणकाजीहरुले गरिरहेका छन् । यसै मेसोमा उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठले केही दिन अघि बालकोटमा मध्यरातसम्म छलफलमा बस्नु भएको थियो । यसैगरी वर्षमान,जनार्दन र एमालेबाट विष्णु पौडेल प्रदिप ज्ञवालीहरु संवादमै रहेको कुरा छिपेको छैन । त्यसैले यसै निर्वाचन मार्फत प्रचण्डले एमालेसँग पुनर्मिलन चाहेको कुरा स्पष्टै छ ।
यसै सेरोफेरोमा अध्यक्ष ओलीसँग राष्ट्रियसभाको निर्वाचनमा साथ खोजेका प्रचण्डले त्यसको माहोल बिग्रदै गएपछि उल्टै केपी ओलीले आफूलाई राष्ट्रियसभामा भाग मागेका प्रचार गरिरहनु भएको छ । प्रचण्डको यो अफवाहलाई हिजोको सचिवालय बैठकमा अध्यक्ष ओलीले स्पष्ट पारिसक्नु भएको छ ।