अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनमा गठबन्दनलाई धक्काः हुम्लाका ८ जनप्रतिनिधले मतदानमा भाग नलिने

राष्ट्रियसभा निर्वाचनमा गठबन्दनलाई धक्काः हुम्लाका ८ जनप्रतिनिधले मतदानमा भाग नलिने


सिमकोट-हुम्लाका आठ जनप्रतिनिधिले राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन्।
सत्ता गठबन्दनबीच राष्ट्रिय सभाको सिट बाँडफाँड अन्तिम चरणमा पुगेकै बेला सरकारको नेतृत्वकर्ता दलका जनप्रतिनिधिले लिखित रुपमा गरेको यस्तो निर्णयले गठबन्दन दलहरुलाई ठूलो धक्का लाग्ने भएको छ।

माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायालाई राष्ट्रिय सभाका लागि एकल नाम सिफारिस गरेको माओवादी केन्द्र हुम्लाले पार्टीकोतर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको उल्लेख गर्दै यस पटक पनि हुम्लालाई व्यवास्था गरे मतदान प्रक्रियामै सहभागी नहुने निर्णय गरेका हुन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष बजिय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले दश जिल्ला भएको कर्णाली प्रदेशमा पार्टीको आधार इकलाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थान हुँदा पनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा परेका कारण यस पटक पार्टीको तर्फबाट राष्ट्रिय सभाको टिकट हुम्लाले नपाए कुनैपनि प्रक्रियामा भाग नलिने निर्णय गरेको जनप्रतिनिधि समेत रहेका एक नेताले जानकारी दिनुभयो ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन होस् वा स्थानीय तहको निर्वाचन होस् सबैमा माओवादीको आधार इलाका बनाएको हुम्लालाई राजकीय देखि पार्टीको सांगठनिक जिम्मेवारीमा जहिल्यै विभेद गर्ने काम भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भन्नुभयो, ‘हरेक पटक भोट हाल्ने हुम्ला माओवादीले यस पटक कुनैपनि हालतमा टिकट पाएन भने आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र प्रदेश देखि केन्द्रमा हुो पार्टीको सांगठनिक कामलाई समेत वहिष्कार गर्ने निचोडमा हामी पुगेका हौं।’

पार्टीका तर्फबाट यसअघिका सबै निर्वाचनमा मतदान गरेको हुम्लाले यस पटक कुनैपनि हालतमा प्रतिनिधित्वको सुनिश्चितता खोजेको बताएको माओवादी हुम्ला स्रोतका अनुसार पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा (प्रभाकर)ले रुकुमपश्चिममा, शक्तिबहादुर बस्नेतले जाजरकोटमा र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रीत गरेका कारण हुम्ला पेलिदै आएको छ।

सांगठानिक रुपमा तेस्रो भएपनि पार्टीको प्रदेश र केन्द्रीय निकायमा मनोनय र राजकीय पदमा निकै पछि परेपछि जिल्ला पार्टीकै तर्फबाट संस्थागत निर्णय गरेर समग्र निर्वाचन प्रक्रिया बहिष्कार गर्ने निर्णय हुम्ला माओवादी गरेको हो।

शनिबार भएको उक्त निर्णय माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाइसकेको छ।
माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङदम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ सिटमा हुन लागेको निर्वाचनमा सत्ता गठबन्दन दलहरु मध्ये नेपाली कांग्रेस १०, माओवादी केन्द्र ६, एकिकृत समाजवादी २ र जसपाले १ सिट पाउने सहमती भएको छ ।