अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण अराजकता बढ्यो : शंकर पोखरेल 

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण अराजकता बढ्यो : शंकर पोखरेल 


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताउनुभएको छ । 

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताउनुभयो । ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भन्नुभयो । 

कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा देखाएको पोखरेलले बताउनुभयो । ‘सरकार नागरिक प्रति कति संवेदनशील छ भने कुरा यसले पुष्टि गर्दछ’, उहाँले भन्नुभयो । 

निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौँ भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गर्ने काम गरेको उहाँले बताउनुभयो । यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरिएको उहाँले प्रष्ट पार्नुभयो । 

सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई दिनुपर्दछ भनि सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या भएको उहाँले बताउनुभयो । सरकार चाहे कोशी प्रदेशको नामका सन्दर्भमा होस् वा गौर घटना र अन्य घटनामा होस् सरकारले गैर जिम्मेवार तरिकाबाट समाजलाई गलत बाटोमा लैजाने काम गरेको पोखरेलले टिप्पणी गर्नुभयो । सरकार आफैँले सामाजिक अराजकता फिँजाउने काम गरेको उहाँले बताउनुभयो । 

आज समाजमा फैलिएको अराजकताका कारण नागरिकमा व्यापक निराशा बढेको उहाँले बताउनुभयो । सत्ताद्वारा नै अराजकता सिर्जना गर्न भूमिका खेल्ने काम भएको उहाँको टिप्पणी छ । उहाँले यस्ता काम नदोहोर्‍याउन पोखरेलले सरकारलाई सचेत गराउनुभयो । 

सरकारको कमजोरीका कारण देशमा विभिन्न काण्ड भएको पोखरेलले बताउनुभयो । यसले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने काम गरिरहेको उहाँको टिप्पणी छ । सरकारको गलत नीतिकै कारण यस प्रकारका प्रवृत्ति बढ्दै गएका उहाँले बताउनुभयो । ‘सरकारका गलत नीति र क्रियाकलापका विरुद्ध जनताले खबरदारी गर्ने बेला आएको छ’, उहाँले भन्नुभयो ।