अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई कमजोर बनाउन सुनियोजित षडयन्त्र भइरहेको छ: शंकर पोखरेल 

देशलाई कमजोर बनाउन सुनियोजित षडयन्त्र भइरहेको छ: शंकर पोखरेल 


घोराही-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भइरहेको बताउनुभएको छ। 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनद्वारा शुक्रबार दाङको घोराहीमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले राष्ट्र हितको प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘नेपाल राष्ट्रलाई कमजोर बनाउनको लागि सुनियोजित ढङ्गले षडयन्त्र पनि भइरहेको छ, नेपाल राष्ट्र इतिहासकै सबैभन्दा कमजोर अवस्थामा उभिएको छ भन्दा अत्यन्त दुःख लाग्दछ।’

सरकार देश र जनता प्रति उदासीन बन्दै गएको पोखरेलले बताउनुभयो। नेपाल सरकारको बजेट प्रणालीबाट जाने रकम भन्दा बढी रकम भारतीय दूतावासले एउटै योजनामा खर्च गर्ने गरी सम्झौता गर्नु त्यसकै उदाहरण भएको बताउनुभयो। यसले स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो सरकारको बजेट प्रणालीमा होइन भारतीय दूतावासमा धाउन बाध्य बनाउने काम गरेको पोखरेलको भनाइ छ। 

अहिले नेपालको धर्म, संस्कृति माथि आक्रमणको काम भइरहेको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो। मानिसहरू बहकिएर जातीय अतिवादी र धार्मिक अतिवादीको पछि लागेको पोखरेलले बताउनुभयो। सत्तारुढ दलका मानिसहरू र मन्त्रीहरूले हिंसालाई प्रोत्साहित गरेर नागरिकको जीवन लिनेसम्मका काम गरेको पोखरेलले टिप्पणी गर्नुभयो । अहिले मुलुक मानवीय संकटको अवस्थामा पुगेको उहाँले बताउनुभयो। 

यस्तो अवस्थामा सरकारमा रहने, नयाँ शक्ति भनिने र राजा आऊ देश बचाउ भन्नेका निशाना पनि नेकपा एमाले प्रति नै भएको उहाँले बताउनुभयो। अहिले सत्तामा रहेका, नयाँ शक्ति भनिएका वा राजवादी सबैले आफ्नो अभीष्ट पूरा गर्न एमाले माथि आक्रमण गरिरहेका पोखरेलको भनाइ छ । 

एमालेले सम्पन्न गरेको समृद्धिका लागि संकल्प यात्राले अविवाद नियन्त्रणमा भूमिका खेलेको उहाँले दाबी गर्नुभयो। एमालेका नेता कार्यकर्ताले मात्र होइन अन्य दलका नेता, कार्यकर्ताले पनि सो यात्राको खुलेर प्रशंसा गरेका उहाँले बताउनुभयो। ‘संकल्प यात्रा नेकपा एमालेको मात्र नबनेर सिङ्गो राष्ट्रको संकल्प यात्रा बन्न पुग्यो’, उहाँले भन्नुभयो। 

मुलुकलाई अहिलेको अवस्थाबाट सही बाटोमा लैजान राजनीतिक दलसँगै कर्मचारी प्रशासनको पनि भुमिका रहेको पोखरेलले बताउनुभयो। तर कर्मचारी प्रशासनमा व्यापक राजनीतिकरण गरिएको कारण कर्मचारी प्रशासन पनि कमजोर हुँदै गएको उहाँले टिप्पणी गर्नुभयो । 

महासचिव पोखरेलले राष्ट्र निर्माण गर्ने हो भने काम गर्ने उमेरका मानिसहरू देश सुधार्ने काममा सहभागी हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘काम गर्ने मानिस जति सबै विदेश गयो भने देश कसरी बन्दछ ? तर अहिलेको सरकारको लागि यो नागरिक पलायनता कुनै चिन्ताको विषय बनेको देखिँदैन’, उहाँले भन्नुभयो। 

अहिले देश निर्माणको काम ठप्प भएको पोखरेलले बताउनुभयो। यसले गर्दा नागरिकमा निराशा र पलायनता बढेको पोखरेलको भनाइ छ।