अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस

महिला सशक्तीकरणमा नेपालले हासिल गरेका उपलब्धि विश्वका लागि उदाहरणीय : पूर्वराष्ट्रपति भण्डारी

महिला सशक्तीकरणमा नेपालले हासिल गरेका उपलब्धि विश्वका लागि उदाहरणीय : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ- ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना  गर्नुभएको छ । 

महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । 

महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै लागि समेत उदाहरणीय बनेको उहाँले बताउनुभयो । 

सामाजिक न्याय, महिला अधिकार तथा लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणामस्वरुप महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा संवैधानिक, नीतिगत तथा कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धि हासिल गरेका छौँ भन्दै पूर्वराष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायमा महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमार्फत आधारभूत व्यवस्था गरी विभिन्न कानुन अभ्यासमा ल्याएका कारण मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ भएको सन्देशमा उल्लेख गर्नुभएको छ । 

उहाँले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद,  उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चवत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने  कामना गर्नुभएको छ । 

शुभकामना सन्देशको पूर्णपाठ

११४औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ ।

सामाजिक न्याय, महिला अधिकार तथा लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन‚ सामाजिक जागरण एवं सचेतना अभियानको परिणामस्वरुप हामीले महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा संवैधानिक, नीतिगत तथा कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धीहरू हासिल गरेका छौँ । राज्यका विभिन्न निकायमा महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा ल्याएका कारण मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ भएको छ । साथै, नेपाली महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिमा स्वामित्व, श्रम सहभागिता लगायत क्षेत्रमा समेत उल्लेखनीय सुधार भएको छ । फलस्वरूप, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा हामीले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै निम्ति समेत उदाहरणीय बनेका छन् ।

यति हुँदाहुँदै पनि, हाम्रो समाजमा विद्यमान गरिबी, अशिक्षा, अन्धविश्वास र कतिपय कुप्रथाका कारण संविधान र कानुनद्वारा प्रदत्त अधिकारहरूको व्यवहारिक कार्यान्वयनमा अझै चुनौतीहरू बाँकी रहेका छन् । हाम्रो समाजमा आज पनि बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोप जस्ता महिलाद्वेषी कुपरम्पराहरू कायमै रहेका छन् । यसैगरी, घरेलु हिंसा, विभिन्न प्रकारका यौनदुर्व्यवहार, बलात्कार र हत्या जस्ता जघन्य हिंसाबाट समेत नेपाली महिलाहरू अझै पीडित बन्नु परिरहेको छ । यसरी समाजमा गहिरो जरा गाडेर बसेका प्रथा र परम्पराहरूलाई केवल कानुनी उपायबाट मात्र अन्त्य गर्न सकिँदैन । यसका लागि हामीले परिवार, समुदाय, शैक्षिक संस्था, कार्यथलो लगायत समाजका हरेक पक्ष र क्षेत्रमा निरन्तर रूपमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ । यसैगरी, महिलाको शैक्षिक एवं आर्थिक सशक्तीकरणका साथै समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नु पर्दछ र यसका लागि राज्यले समेत यथेष्ट रूपमा लगानी वृद्धि गर्नु पर्दछ ।

महिला अधिकारको क्षेत्रमा हासिल भएका उपलब्धीहरूका लागि हामीले हाम्रा अग्रज महिला नेताहरू, समाज सुधारकहरू र उहाँहरूको आवाज र अभियानमा साथ र सहयोग दिनुहुने राजनीतिक पार्टीका नेताहरूप्रति पनि हामीले सम्मान जाहेर गर्नु पर्दछ । प्राप्त उपलब्धीहरूको रक्षा गर्दै संविधान प्रदत्त महिला अधिकारको प्रभावकारी कार्यान्वयनका साथै पूर्ण लैङ्गिक समानता प्राप्तिको अभियानको अगुवाइ गर्न अब युवा पुस्ताका महिलाहरू अग्रसर हुनु पर्दछ । महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलाको मात्र मुद्दा होइन । तसर्थ, यसका लागि  महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको कुरामा पनि म विशेष जोड दिन चाहन्छु ।

अन्तमा‚ यस दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८० फागुन २५  गते शुक्रबार ।