अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘एक घर एक सङ्गठित सदस्य’ बनाउने एमाले कर्णालीको योजना 

‘एक घर एक सङ्गठित सदस्य’ बनाउने एमाले कर्णालीको योजना 

साङ्गठनिक टक्सिनलाई बढ्न नदिन इन्चार्ज भट्टको निर्देशन


काठमाडौँ–  नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले  ‘एक घर एक सङ्गठित सदस्य’ को योजना बनाएको छ । एमाले कर्णाली प्रदेशको दोस्रो बैठकले प्रदेशका १० वटै जिल्लामा ‘एक घर एक सङ्गठित सदस्य’ बनाउने निर्णय गरेको हो । 

एमाले सातौँ केन्द्रीय कमिटीले अगामी वर्ष २०८१ लाई सङ्गठन शुद्धीकरण र सदृढिकरण वर्षका रूपमा अघि बढाउने निर्णय अनुसार कर्णाली प्रदेश कमिटीले  ‘एक घरमा एक एमाले सदस्य’ बनाउने लक्ष्यलाई पुरा गर्न जिल्ला र पालिका कमिटीलाई निर्देशन दिएको एमाले कर्णाली प्रदेश सचिव धुर्ब कुमार शाहीले जानकारी दिनुभयो । यस्तै उहाँका बैठकले पार्टी सदस्यहरूलाई केन्द्रको नीति र कार्यक्रमका बारेमा जानकारी दिँदै निष्क्रिय   सदस्यलाई बिदाइ गर्ने निर्णय गरेको छ । 

एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समयको परिवर्तित राजनीतिलाई सकारात्मक रूपमा लिएको छ ।  ‘हाम्रा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा जुनखाले परमादेशी गठबन्धनलाई टुटाएर वामपन्थी शक्तिहरूको गठबन्धन गर्ने काम भएको छ, त्यो निकै स्वागतयोग्य कुरा हो’, बैठकका निर्णयहरूका बारेमा जानकारी दिँदै प्रदेश अध्यक्ष गुलावजंग शाहले भने, ‘पार्टीको निर्णयअनुसार केन्द्रमा भएको पछिल्लो गठबन्धनको खुलेरै प्रशंसा गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ ।’

बैठकले अधिवेशन हुन बाँकी जिल्लाहरूको अधिवेशन अगामी २०८१ वैशाख १५ गतेसम्मको समायसिमा निर्धारण गरेको अध्यक्ष शाहले बताउनुभयो । यस्तै बैठकले प्रदेश कमिटीको सचिवालय गठन गरेको छ । तत्कालका लागि यसभन्दा अघिल्लो कार्यकालमा सचिवालय रहेर काम गरेका र यो पटक पनि प्रदेश कमिटीमा निर्वाचित भएका १२ जना सदस्य र ५ जना पदाधिकारीहरू रहेको १७ सदस्यीय सचिवालय गठन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।  

पार्टीका प्रदेश इन्चार्ज तथा केन्द्रीय कमिटी सचिव लेखराज भट्टको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको बैठकले प्रदेश अध्यक्ष शाहले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, दश वटै जिल्लाका पार्टी अध्यक्षले प्रस्तुत गर्नु भएको जिल्लागत रिर्पोटलाई पारित गरेको छ ।  

बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले पार्टीको आन्तरिक जीवनको विकारका रूपमा रहेको साङ्गठनिक टक्सिनलाई बढ्न नदिन प्रदेश कमिटीका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । उहाँले मानव शरीरमा विकार उत्पादन गर्ने टक्सिन जस्तै सांगठनलाई कमजोर बनाउने विभिन्न व्यक्ती र तत्त्वहरूले टक्सिनको काम गरेकाले त्यस्ता टक्सिनहरूलाई बढ्न नदिनप्रति सबै नेता कार्यकर्ता सजग रहनुपर्ने बताउनुभयो ।  

स्थायी कमिटी सदस्य यमलाल कँडेलले सम्बन्धित कमिटीलाई काम गर्न नदिएर माथिल्ला कमिटीले अनावश्यक रूपमा गर्ने स्वार्थगत हस्तक्षेप मात्रै नगर्ने हो भने पार्टी भित्रको विवाद सकिने दाबी गर्नुभयो । 

बैठकमा स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले प्रदेश कमिटीको दोस्रो बैठकले सौहाद्र्धपूर्ण तवरले गरेका राम्रा निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।  बैठकमा पार्टीका पोलिटब्युरो सदस्य मोहन बानिया, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ ।