अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मन्त्रीहरूलाई अध्यक्ष ओलीको निर्देशन: सजग भएर काम गर्नू

एमालेका मन्त्रीहरूलाई अध्यक्ष ओलीको निर्देशन: सजग भएर काम गर्नू


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सजग भएर काम गर्न निर्देशन दिनुभएको छ।

एमालेबाट मन्त्री बनेकाहरुलाई आफ्नै निवासमा भेला गरेर अध्यक्ष ओलीले आज साँझ यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फसाइदेलान् होस् गर्नु, यो सरकारलाई जसरी पनि सफल पार्नु, यो सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ।’

अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै यो सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहेको बताउनुभयो। मन्त्रीहरुलाई अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्दात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भए पनि हामी एक भएका छौं।’

अध्यक्ष ओलीले मन्त्रीहरुलाई भन्नुभयो, ‘मिडियामा भ्रष्टाचारका अनेक काण्डहरुका समाचार आउँछन् । कैयन समाचार अतिरञ्जित हुन्छन्, कैयन समाचार काल्पनिक हुन्छन्, कैयन समाचार सत्य बंगाएर असत्यको लेप लगाएर आएका हुन्छन्, म यति अनुभवी छु कि काण्डहरुको बारेमा सुन्नासाथ छर्लङग बुझिहाल्छु । हाम्रा मन्त्रीहरुका बारेमा नक्कली काण्ड आएमा म आफैं अगाडि सरेर प्रतिवाद गर्छु, वास्तवमै काण्ड गरेको रहेछ भने कारवाही गर्न म आफैं अगाडि सर्छु ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको कार्यशैली र विशेषता बारे पनि मन्त्रीहरु समक्ष वयान गर्नुभएको थियो । ओलीले मन्त्रीहरुलाई भन्नुभयो– ‘प्रधानमन्त्रीलाई क्रश गर्ने काम नगर्नुहोला । प्रधानमन्त्रीलाई सम्पूर्ण रुपमा सहयोग गर्नुहोला, सहयोग गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोला ।’

अध्यक्ष ओलीले संसद्मा आफ्ना मन्त्रालय तथा काम बारेमा उठ्ने हरेक प्रश्नमा जवाफ दिन चौबीसै घन्टा तयार रहन पनि निर्देशन दिनुभएको छ ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानसहित आठ जना मन्त्रीहरू छन्।

घुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्रकुमार राई खानेपानी, पदम गिरी कानून, न्याय तथा संसदीय मामिला, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेका छन्।

यस्तै, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, हरि उप्रेति रक्षा र ज्वालाकुमारी साह कृषिमन्त्री छन्।