अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने सभामुख घिमिरेको विश्वास  

ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने सभामुख घिमिरेको विश्वास  


काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  

हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले ल्होसार पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बिचमा आपसी सद्‍भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको भएको हो । 

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आफन्त भेटघाट र पूजाआजा गर्नुका साथै गुथुक र खाप्से जस्ता खानेकुरा खाएर विभिन्न पिकनिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । 

सभामुख घिमिरेको शुभकामनामा भनिएको छ, नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् । सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ । मौलिक चाडवाडको संरक्षण र संवर्द्धन  गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ । 

ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।