अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सत्ता साझेदारीलाई सफल बनाउनु हाम्रो कर्तव्यः महासचिव पोखरेल 

वर्तमान सत्ता साझेदारीलाई सफल बनाउनु हाम्रो कर्तव्यः महासचिव पोखरेल 


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न वर्तमान सत्ता सहकार्यलाई बाँकी पूरै समय लैजानुपर्ने बताउनुभएको छ। 

काठमाडौंमा आजबाट सुरु भएको स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।

महासचिव पोखरेलले प्रधानमन्त्री र महत्वपूर्ण मन्त्रालय नेकपा माओवादी केन्द्रको भागमा परेको भए पनि नेकपा एमालेले नै यो गठबन्धन बनाएकोले जोगाउने दायित्व पनि एमालेकै काँधमा रहेको जिकिर गर्नुभयो। महासचिव पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पूरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको पनि बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्याउनुपर्छ भन्ने मान्यता राख्दछौं, त्यही मान्यताअनुसार सवै नेता कार्यकर्ता यो सरकारको पक्षमा उभिनुपर्छ। आफूलाई चित्त नबुझ्ने बित्तिकै अराजकता फैलाउने कुरा पार्टीलाई स्वीकार्य हुन्न।’ अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको महासचिव पोखरेलको भनाई छ।

महासचिव पोखरेलले पुरानो सत्ता गठबन्धनभित्र समस्या बढेको थाहा पाएपछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘नयाँ गठबन्धन हामीले नै बनाएको कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो नै हो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकार असफल भएकोले दाहालकै नेतृत्वमा पुनर्गठित भएको अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। सरकारलाई सफल बनाउने प्रष्ट योजनाकै कारण पाँच दलीय महासचिव पोखरेलले सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको बताउनुभयो।

उहाँले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति ह्वात्तै बढेको भन्दै प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो। उहाँले परिवर्तनलाई उल्टाउन खोज्ने प्रवृत्ति हाबी भएको निश्कर्षसमेत सुनाउनुभयो। ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन’, पोखरेलले भन्नुभयो, ‘यस्ता प्रवृत्तिलाई रोक्नुपर्छ, यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका रहन्छ।’

महासचिव पोखरेलले अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको तथ्यसमेत औंल्याउनु भयाे। महासचिव पोखरेलले पार्टीभित्र तलतल गुटबन्दी मौलाएको भन्दै चिन्ता जनाउनु भयो । पार्टीका सामु अहिले अवसरवाद र सांगठानिक अराजकताको चुनौती रहेको उहाँको निश्कर्ष छ। पार्टी केन्द्रमा अहिले कुनै समस्या नरहेको भए पनि जति तल झर्दै गएको विभिन्न खालका गुटहरू बनेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

माथिदेखि तलसम्म पार्टीमा एकता कायम हुन आवश्यक रहेको भन्दै महासचिव पोखरेलले चित्त नबुझ्ने बित्तिकै अराजकता फैलाउने कुरा पार्टीमा मौलाउनु नहुने बताउनु भयो । विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको पोखरेलले बताउनु भयो।

महासचिव पोखरेलले एमाले नेता कार्यकर्ताको आचरण जनताले मन पराउने खालको हुनुपर्नेमा पनि जोड दिनुभयो । जनताले मन नपराउने र आशंका गर्ने आचरण भएका कार्यकर्ताबाट पार्टी बन्न नसक्ने भन्दै सुध्रन नसक्नेहरुमाथि कार्वाही हुने बताउनु भयो ।