अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मिसन-८४’लाई केन्द्रित गरी एमाले उदयपुरले आठवटै पालिकाका नेता-कार्यकर्तालाई पढाउँदै

‘मिसन-८४’लाई केन्द्रित गरी एमाले उदयपुरले आठवटै पालिकाका नेता-कार्यकर्तालाई पढाउँदै


उदयपुर-नेकपा एमाले उदयपुरले ‘मिसन-८४’लाई लक्षित गरी नेता-कार्यकर्तालाई पढाउन शुरू गरेको छ। पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गिय संगठन, जनप्रतिनिधि र पार्टीबीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको वहुदलिय जनवाद लगायतका विषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन शुरू गरेको हो।

पार्टी संगठन मजबुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठवटै स्थानीय तहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अब्बल संगठन, विकासमा नेतृत्वदायी भूमिका बनाउने पार्टीको लक्ष्य अनुरुप प्रशिक्षण शुरू गरेका हौं।’

प्रशिक्षणमा विषयबस्तुको जानकारीसँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्धन्द्ध व्यवस्थापन, विकास निर्माणका विषयमा छलफल, जनप्रतिनिधि र कार्यकर्ता विचको सम्बन्धमा सुमधुरता कायम गर्नसमेत समन्वयात्मक भुमिका निर्वाह गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो। उहाँका अनुसार हालसम्म बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिकामा प्रशिक्षण सकिएको र बाँकी पालिकामा जिल्ला अधिवेशन अगाडी नै सक्ने गरी तयारी गरिएको बताउनुभयो।

प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमबार रौतामाई गाउँपालिका कमिटीले वडा-६, रौतामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पालिका कमिटीका अध्यक्ष केशव राईले बताउनुभयो। कार्यक्रममा पार्टीका सम्बन्धित भूगोलका जिल्ला कमिटी, गाउँपालिका कमिटी, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला, पालिका कमिटीका नेताहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो।

एक दिने प्रशिक्षणको सहजिकरण पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज पर्शुमेघी गुरुङ्ग, केन्द्रिय सदस्य तथा सबै पालिका इन्चार्ज अम्बिका थापा, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, उपसचिव भरतबहादुर थापाले गर्नुभएको थियाे ।

पार्टीको दशौं महाधिवेशनबाट पारित प्रस्तावका विषयमा पोलिटव्युरो सदस्य गुरुङ्ग, महिलाका मुद्दा, अवसर, चुनौती र आगामी कार्यभारका सवालमा केन्द्रिय सदस्य थापा, जनप्रतिनिधि र पार्टी बीचको सम्बन्धका विषयमा अध्यक्ष घिमिरे र पार्टी र जनवर्गिय संगठन विचको सम्बन्धको विषयमा उपसचिव थापाले प्रशिक्षण दिनुभएको राैतामाई गाउँपालिका कमिटीका सचिव ललित मगरले जानकारी दिनु भयो ।

कार्यक्रममा एक सय बढी नेता-कार्यकर्ताको सहभागीता रहेको सचिव मगरले बताउनु भयो। पार्टी प्रशिक्षणले आगामी दिनमा पार्टी कार्यभारका विषयमा नेता-कार्यकर्तालाई दिशानिर्देश गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा रौतामाई गाउँपालिका कमिटीका इन्र्चाज टामिन्द्र राईले बताउनुभयो।