अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: प्रधानमन्त्रीलाई खुल्ला हृदयले विश्वासको मत दिनुस्

सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: प्रधानमन्त्रीलाई खुल्ला हृदयले विश्वासको मत दिनुस्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न निर्देशन दिनुभएको छ।

संसदीय दलको बैठकमा उहाँले कुनै कुराको आलोचना गर्नु पर्दा त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने बताउनु भयो।

बैठकलाई मंगलबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्नैपरे पार्टीभित्रै गर्न निर्देशन दिनुभएको छ।

उहाँले भन्नुभो, ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचना नगर्नु होला। सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ। सरकारबारे केही कुरा भन्नुपरे मलाई भन्नुस्।’

उहाँले फ्याट्ट फ्याट्ट बोल्दा कहिलेकाहीँ कुरो बिग्रिने बताउनु भयो। त्यसैले सांसदहरूलाई सम्हालिएर बोल्न पनि उहाँले सुझाव दिनुभयो। उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ देख्दा एउटा हुन्छ, तर सत्य अर्कै हुन्छ। डोरीको त्यान्द्रो देख्दा सर्प जस्तो लागेर झसङ्ग होइन्छ। तर त्यो डोरी हो भन्ने थाहा हुँदा ढुक्क बनिन्छ। डोरी देख्दा पनि झस्किएर सजग त भइयो नि। कहिलेकाहीँ फ्याट्ट-फ्याट्ट बोल्दा कुरो बिग्रिन सक्छ। हामी सजग हुनु जरुरी छ।’

अध्यक्ष ओलीले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पनि निर्देशन दिनुभयो। विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको उहाँको भनाइ छ।

‘प्रधानमन्त्री प्रचण्डजीलाई हामी खुल्ला हृदयसहित विश्वासको मत दिन्छौँ’, उहाँले भन्नभयो, ‘प्रमुख सचेतकजी (महेश बर्तौला) ले ह्विप जारी गर्नुहुन्छ। खबर नआए पनि तपाईं हामी यसमा सबै सजग हुनुपर्छ।’

प्रचण्ड नेतृत्वको यो सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) को बाटो बन्द हुने बताउँदै उहाँले प्रमुख पार्टीको हैसियतले देशमा असक्षम, अयोग्य, दृष्टिकोणविहीन र सङ्कल्पबिनाको सरकार बन्नेतर्फ उनले सांसदहरूलाई सजग गराउनुभयो।