अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँ: शंकर पोखरेल

सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँ: शंकर पोखरेल


वीरगञ्ज-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता गठबन्धन देशमा विकास र सुशासन दिन बनेको बत्ताउनुभएको छ।

बिहीबार वीरगञ्जमा आयोजित नेकपा एमालेको पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ गठबन्धन बनाइएको बताउनुभयो। अब निराशालाई तोड्नु पर्छ भनेर नेकपा एमाले लागेको उहाँले प्रष्ट पार्नुभयो । ‘सुशासन र विकास के हो भन्ने कुरा अब हामी जनताको बिचमा देखाउन चाहन्छौँ’, पोखरेलले भन्नुभयो।

पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकेको बताउनुभयो। महासचिव पोखरेलले क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने बताउनुभयो । मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका उहाँले टिप्पणी गर्नुभयो । तर उनीहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलले बताउनुभयो।

अहिले पनि मधेसको राजनीतिलाई क्षेत्रीयता तर्फ नै होम्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । तर त्यसले समग्र मधेसको हित गर्न नसक्ने पोखरेलले प्रष्ट पार्नुभयो ।

एमालेलाई मधेस विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले बताउनुभयो । नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उहाँको भनाइ छ । मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उहाँको धारणा छ।

नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उहाँले बताउनुभयो । छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उहाँले दाबी गर्नुभयो ।

कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेका उहाँले बताउनुभयो । विकासको काम गर्न नेकपा एमाले नै आउनु परेको पोखरेलको भनाइ छ । आज मधेसको रूप रङ्ग फेरिनुको मुख्य कारण नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भन्नुभयो ।

नेपालको पानीमा पहिलो अधिकार नेपालको छ भन्ने कुराको आधारमा नदीको पथान्तरको काम नेकपा एमालेले सुरु गरेको पोखरेलले बताउनुभयो । नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमालेलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि नेपालको दुर्भाग्यको दिन सुरु भएको उहाँले बताउनुभयो । एमाले सरकारबाट हटेपछि विकास र समृद्धिका सबै काम रोकिएका पोखरेलले प्रष्ट पार्नुभयो । आज मुलुक चरम निराशामा डुबेको उहाँको धारणा छ ।

राष्ट्र निर्माणको लागि बलियो राजनीतिक दल, स्थिरता र स्थायित्व जरुरी रहने उहाँले बताउनुभयो । नेपालको सन्दर्भमा यो क्षमता नेकपा एमालेसँग मात्र रहेको पोखरेलले प्रष्ट पार्नुभयो । नेपाली समाजको मनोविज्ञान बुझेर देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले भएको पोखरेलले दाबी गर्नुभयो । त्यसैले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

मधेस प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अभियान सुरु गर्ने पनि पोखरेलले जानकारी दिनुभयो । मधेस प्रदेशका सबै जिल्लामा पार्टी अध्यक्षलाई ल्याउने योजना पार्टीले बनाएको उहाँले बताउनुभयो ।