अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमानकाे सरकार चीनले होइन, हामीले बनाएका हौँ: अध्यक्ष ओली

वर्तमानकाे सरकार चीनले होइन, हामीले बनाएका हौँ: अध्यक्ष ओली


 कञ्चनपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनले अहिलेको सरकार बनायो भन्ने भ्रम छरेर नेपालीको अपमान नगर्न आग्रह गर्नुभएको छ।

बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालीहरूले बनाएको राजनीतिक समीकरण भएकाले कच्चा नभएको दाबी गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो समीकरण हामीले बनाएका हौँ। नेपालीले बनाएका हौँ। अरु कसैको इच्छा, आकांक्षाको बलले होइन। चीन आएर बनाइदियो भनेर हाम्रो अपमान गर्ने काम कृपया नगरिदिनुस्। यतिका काम गर्न चीन-अमेरिका चाहिँदैन। हामी आफैँ गर्न सक्छौँ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसले यो समीकरणलाई चीनले बनाएको भनेर प्रचारबाजी गरिरहेको भन्दै त्यस्तो झुटो प्रचार नगर्न आग्रह गर्नुभयो।

नेपाली कांग्रेसलाई सरकारबाट बाहिर निकाल्नु कुनै ठूलो कुरा नभएको अध्यक्ष ओलीले बताउनुभयो। नेकपा एमाले अहिले संयुक्त सरकारमा सामेल रहेकाले ‘डेलिभरी’ दिने उहाँले दाबी गर्नुभयो।

‘यो अस्तिजस्तो सरकार होइन। अहिले संयुक्त सरकार छ। हामी डेलिभरी दिन्छौँ’, ओलीले भन्नुभयो। 

एमाले सम्मिलित वर्तमान सरकारले मिटर ब्याजपीडित र आरती साहका परिवारसँग सहमति गरेर समस्या समाधानको सुरुवात गरेको उहाँले बताउनु भयो।

अध्यक्ष ओलीले मुलुकको परिस्थिति फेरिएको भन्दै नयाँ परिस्थितिमा  आत्मविश्वास र दृढताका साथ अघि बढ्न एमाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।