अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर अधिवेशन : आज एकसाथ प्रतिनिधि छनौट गरिँदै

एमाले उदयपुर अधिवेशन : आज एकसाथ प्रतिनिधि छनौट गरिँदै


काठमाडौँ– नेकपा (एमाले) उदयपुरको चैत १३ र १४ गते हुने नवौँ जिल्ला अधिवेशनका लागि आज जिल्लामा एकसाथ प्रतिनिधि छनौट हुँदै छ । 

जिल्ला अधिवेशन तयारीका लागि फागुन ३० गते बसेको आयोजक समितिको बैठकले एकसाथ प्रतिनिधि छनौट गर्ने निर्णय गरेको थियो । 

अधिवेशनका लागि सबै वडाहरूमा आज ७७ वटा वडा र २३ वटा जनसंगठनले प्रतिनिधि छनौट गर्ने छन् । वडाको संगठित सदस्यको अनुपातमा ७ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिने एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिनुभयो । 

युवा, विद्यार्थी, किसान लगायत १० वटा जनसंगठनलाई २ खुल्ला र १ महिला प्रतिनिधि तोकिएको छ भने अन्य पिछडा वर्ग, बुद्धिजीवी, जनस्वास्थ्य लगायत १३ वटा जनसंगठनले २ जनाका दरले प्रतिनिधि छनौट गर्ने छन् । 

छनौट गरिएको प्रतिनिधिहरू चैत ८ गतेभित्र प्रतिनिधि व्यवस्थापन उपसमितिमा पठाइसक्नु पर्ने प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक टेकबहादुर राउतले जानकारी दिनुभयो । 

एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेका अनुसार चैत्र १३ गते जिल्ला अधिवेशनको उद्घाटन हुनेछ भने १४ गते आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशन सम्पन्न गर्नका लागि मूल आयोजक समिति समेत गरी १३ वटा उपसमिति गठन गरिएको छ । 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने र पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित हुने कार्यक्रममा जिल्ला भरिका करिब ६ सय ५० जना प्रतिनिधिहरू सहभागी हुने जिल्ला अध्यक्ष घिमिरेले बताउनुभयो ।

अधिवेशनका लागि मूल आयोजक समिति, राजनीतिक प्रतिवेदन लेखन, आर्थिक, सांस्कृतिक, हल व्यवस्थापन, अतिथि सत्कार, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।