अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कञ्चनपुरमा दुईवटा संयोग महिला अध्यक्ष,सपथ ग्रहणमा केन्द्रीय अध्यक्ष

एमाले कञ्चनपुरमा दुईवटा संयोग महिला अध्यक्ष,सपथ ग्रहणमा केन्द्रीय अध्यक्ष



महेन्द्रनगर- सुदुरपश्चिमको सिमान्त जिल्ला कञ्चनपुर । यस जिल्लामा नेकपा एमालेले एउटा दुर्लभ अवसर प्राप्त गरेको छ । हिजो राती सकिएको पार्टीको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा महिला नेतृ लक्ष्मी बुढा जिल्ला अध्यक्ष निर्वाचित हुनु भएको छ । त्यती मात्र हैन यो जिल्ला कमिटीले अर्को पनि दुर्लभ अवसर प्राप्त गरेको छ । त्यो हो जिल्ला कमिटीको सपथग्रहण समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती ।
संयोग यस्तो पर्यो कि अध्यक्ष ओली डडेलधुराको जिल्ला अधिवेशन गर्न धनगढी उत्रदैगर्दा कञ्चनपुरको जिल्ला अधिवेशनको बन्द सत्रमा नेतृत्व छान्न प्रतिनिधीहरु व्यस्त थिए । केही प्रतिनिधी चुनावको पक्षमा थिए भने अधिकांस प्रतिनिधीहरु सर्वसम्मत नेतृत्वको पक्षमा थिए । त्यसमा पनि कार्यवाहक अध्यक्ष भइरहेकी महिला नेतृ बुढालाई अध्यक्ष बनाउनु जिल्लामा एउटा इतिहासको रचना गर्नु पनि हो भन्ने अधिकांसको चाहना थियो । तथापी राजनीति हो कतिपयले यसमा फरक मत राखे । निर्वाचनमा गएर भए पनि चाँडो अधिवेशन सकाउनु पर्ने भन्दै पार्टी कार्यालयमा तालाबन्दी पनि गरे । तर यो विवाद लामो समय रहेन । ‘अध्यक्षका दाबेदार अशोक चन्दले लक्ष्मी बुढालाई समर्थन गरेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ’ जिल्ला इन्चार्ज नारदमुनी रानाले भन्नुभयो ‘हामीलाई गर्व छ । सुदुरपश्चिमको सिमाना जिल्लाबाट महिला अध्यक्ष बनाउन पायौं । अर्को कुरा सपथग्रहण समारोहमा पार्टी अध्यक्षलाई पायौं ।’
भीमदत्त नगरपालिकाका मेयर रहेका विष्ट कानुनी अफ्ठेरोमा परेपछि उपाध्यक्ष रहनु भएकी बुढालाई कार्यवाहक अध्यक्ष बनाइएको थियो ।
पार्टी केन्द्रीय सदस्य एवं सुदुरपश्चिम प्रचार तथा प्रकाशन संयोजक कमला बोहोराका अनुसार जिल्ला अध्यक्षका रुपमा महिलालाई निर्वाचित गर्न पाउँदा गौरव महसुष भएको छ । ‘सुदुरपश्चिमले महिला नेतृत्व स्थापना गर्न निर्वाह गरेको भूमिकाको सन्देश सुदुरपूर्वसम्म नै पुगोस भन्ने कामना गर्दछौं’ बोहोराले भन्नुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर पुग्दा रातको १२ बज्न लागेको थियो । डडेलधुराबाट पर्शुराम हुँदै उहाँ कञ्चनपुर पुग्नु भएको हो । राती १२ बजेतिर निर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा सहभागी भएर उहाँ धनगढी आएर बासबस्नु भयो । अध्यक्ष ओली अहिले बिहान काठमाडौंका लागि प्रस्थान गर्नुभएको बोहोराले जानकारी दिनुभयो ।