अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल पार्टी एकता हुँदैन, यो सत्ता समीकरण मात्र हो: युवराज ज्ञवाली

तत्काल पार्टी एकता हुँदैन, यो सत्ता समीकरण मात्र हो: युवराज ज्ञवाली


रामेछाप-नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी वा एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता नहुने बताउनुभएको छ।

नेकपा एमाले जिल्ला संगठन विभागको संयोजन तथा जिल्ला पार्टीको आयोजनामा भएको वडातहसम्मका अध्यक्ष र सचिवहरूको कार्यशालालाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले हिजो हतारमा पार्टी एकता गर्दा समस्या आएको बताउँदै फेरी हतारमा पार्टी एकता गरेर एमाले पछुताउने पक्षामा नरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अहिले पार्टी एकता हुन सक्दैन, हामी तत्काल माओवादीसँग पनि पार्टी एकता गर्दैनौँ, माधव नेपालसँग पनि गर्दैनौँ, यो सत्ता समीकरण मात्रै हो।’

पार्टीले जनताका कुरा र तलका समस्या बुझेर मात्रै माथिबाट निर्णय गर्नुपर्ने ज्ञवालीले बताउनुभयो। राजनीतिका सबैभन्दा ठुला गुरु जनता भएको उहाँले स्पष्ट पार्नुभयो। ‘जनताबाट सिक, अनि मात्र निर्णय गर, जनता हाम्रा गुरु हुन्, जनताबाट सिक्नु पर्छ, किनकि राजनीति जनताको लागि लडाइँ हो’, ज्ञवालीले भन्नुभयो।

एमालेलाई रोक्न देशी विदेशी शक्ति लागिरहेको अवस्थामा एमालेको अग्रसरतामा नयाँ सत्ता समीकरण बनेको उहाँले बताउनुभयो।

प्रतिकूलताको लडाइँबाट नेकपा एमाले केही बाहिर निस्किएको उहाँले बताउनुभयो। कम्युनिष्टलाई आपसमा लडाएर शासन गर्ने कांग्रेसको योजनालाई तत्कालको लागि असफल गराइएको ज्ञवालीले दाबी गर्नुभयो। ‘नेपाली कांग्रेस कम्युनिष्टलाई सिद्ध्याउन चाहन्छ’, उहाँले भन्नुभयो।

कांग्रेससँग काम गर्न सकिएन भन्ने निष्कर्षमा माओवादी पनि पुगेको कारण अहिलेको सत्ता समीकरण सम्भव भएको उहाँले बताउनुभयो। ‘अहिलेको समीकरण कम्युनिष्ट पार्टी र देशको लागि अनुकूल भएको ज्ञवालीले बताउनुभयो। देश भरी वामपन्थी जनमत बलियो छ , तथापि कम्युनिष्टहरुले हारिरहेका छन्, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउन सकियो भने कांग्रेसलाई पराजित गर्न सकिन्छ’, ज्ञवालीले भन्नुभयो।

कम्युनिष्ट फुटेकाले राजावादीले समेत हेप्न लागेका ज्ञवालीले बताउनुभयो। लक्ष, उद्देश्य र सिद्धान्त एउटै भएका कम्युनिष्टहरु अलग अलग भएर लड्दा प्रतिक्रियावादीलाई नै लाभ हुने उहाँले औँल्याउनुभयो।

प्रगतिशील र देशभक्तहरूको सक्ता समीकरणको लागि एमालेले मन्त्री पदलाई प्राथमिकतामा नराखेको ज्ञवालीले बताउनुभयो। त्यसैले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मागेको मन्त्रालय दिएर भए पनि एमाले सरकारमा गएको ज्ञवालीले प्रष्ट पार्नुभयो ।
ज्ञवालीले नेपालमा जनवादी क्रान्ति शान्तिपूर्ण तरिकाले जनआन्दोलनबाट सफल भएको बताउनुभयो। अबको रणनीतिक लक्ष र गन्तव्य समाजवाद भएको ज्ञवालीले स्पष्ट पार्नुभयो। अहिले नै समाजवादमा पुग्न नसकिने उहाँले बताउनुभयो। राजनीतिक रूपमा क्रान्ति भएको छ, तर सामाजिक, आर्थिक र सामाजिक रूपमा क्रान्ति गर्न बाँकी छ’, ज्ञवालीले भन्नुभयो।

जनतालाई सचेत र चेतनशील बनाउन कम्युनिष्ट पार्टी आवश्यक रहेको उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीले मात्र जनतामा समाजवादको चेत विकास गर्न सक्ने उहाँले बताउनुभयो। जनवादी कार्यक्रम लागु गरेर समाजवादको आधार तयार गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। ‘कम्युनिष्ट पार्टीको सरकार नवीन जनवादी कार्यक्रम लागु गर्न सकिँदैन, यसको लागि जनमत निर्माण आवश्यक छ, जनताको विश्वास जितेर सरकारमा पुगेपछि मात्र जनवादी कार्यक्रम लागु गर्न सकिन्छ’, ज्ञवालीले भन्नुभयो।
जनताका बिनको कार्यकर्ता पानी बिनाको माछो मात्रै हुने उहाँले बताउनुभयो। ‘जनता बिना कम्युनिष्ट पार्टी रहन सक्दैन, त्यसैले धेरै भन्दा धेरै जनतालाई कम्युनिष्ट पार्टीमा आबद्ध गर्न सक्नु पर्छ’, उहाँले भन्नुभयो।

विगतमा कम्युनिष्ट पार्टीले बहुमत ल्याएको भए पनि त्यसलाई जोगाउन नसक्नु ठुलो कमजोरी भएको उहाँले बताउनुभयो। अहिलेको प्रमुख समस्या कुनै एउटा दलको बहुमत नहुनु भएको ज्ञवालीले स्पष्ट पार्नुभयो। ‘एक पटक असफल भयो भन्दैमा निराश भएर हुँदैन, कमजोरीबाट शिक्षा लिएर अगाडी बढ्नु पर्छ’, ज्ञवालीले भन्नुभयो।

बारम्बार सरकार परिवर्तन हुँदा देशमा अस्थिरता बढेको उहाँले बताउनुभयो । त्यसै आउने चुनावमा बहुमत ल्याउन सक्ने पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। ‘पार्टी राम्रो भयो भने मात्र देश राम्रो बन्छ, देश बिग्रनुको कारण पार्टी राम्रो बन्न सकेको छैन भन्ने प्रमाण हो‘, ज्ञवालीले भन्नुभयो।

२०८४ को निर्वाचन नआउँदासम्म देशको राजनीतिलाई धेरै भन्दा धेरै जनताको हित हुने गरी लैजानु पर्ने उहाँले बताउनुभयो । त्यसैले नयाँ सत्ता समीकरण गरिएको उहाँले प्रष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै पार्टी जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पार्टीका सबै तहको बुझाइमा एकरूपताको लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो। पार्टी काममा धेरै समस्या र चुनौती रहेका बताउँदै श्रेष्ठले ती सबै अलमल हटाएर अघि बढ्न कार्यशालाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा पार्टी जिल्ला कमिटीको तर्फबाट जिल्ला कमिटी सचिव पुरुषोत्तम कँडरियाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ । अवधारणा पत्र माथि समूह छलफल गरी आवश्यक सुझाव समेत दिइएको थियो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश लेखा आयोग अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका नेताहरू, पालिका कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव, जनसंगठनका अध्यक्ष एवं सचिवहरूको सहभागिता रहेको छ।