अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिवर्तन गर्न सकिन्छ, देशको भविष्य प्रति आश्वस्त बनौं: प्रदीप ज्ञवाली

परिवर्तन गर्न सकिन्छ, देशको भविष्य प्रति आश्वस्त बनौं: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुरानो गठबन्धनले देशलाई मल्टिपल अर्गान फेलियरको अवस्थामा पुर्‍याएको बताउनुभएको छ।

शुक्रबार अनेरास्ववियुले नेपाल कमर्स क्याम्पस मिनभवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले सरकारको गतिविधिको कारण सर्वत्र निराशा छाएको बताउनुभयो। उहाँले नागरिकमा बढेको निराशालाई आशामा परिणत गर्नकै लागि नयाँ सत्ता समीकरण गरिएको बताउनुभयो।

उपमहासचिव ज्ञवालीले पुरानो गठबन्धनको कारण देशको हरेक क्षेत्र ओरालो लागेको बताउनुभयो। यसले देश नै बदनाम हुने स्थिति पैदा भएको र नागरिकमा सामूहिक निराशा बढेकोले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरण निर्माण गरिएको ज्ञवालीले दाबी गर्नु भयो। ‘सामूहिक निराशाको स्थितिलाई हस्तक्षेप गर्न हामीले एउटा राजनीतिक समीकरण गरेका छौँ’, उहाँले भन्नुभयो।

नेकपा एमालेलाई कहिल्यै पनि सत्तामा जान दिँदैनौ भनि निर्माण गरिएको भाष्यलाई चिर्न एमाले सफल भएको उहाँले बताउनुभयो । एमाले विरुद्धको घेराबन्दी तोड्ने काम भएको उहाँको भनाइ छ।

उपमहासचिव ज्ञवालीले सत्ता समीकरण परिवर्तनमा मात्र ठूलो कुरा नभई सरकारले जनतामा आशा जगाउने काम गर्न सक्नु पर्ने बताउनुभयो। सरकारका प्रारम्भिक केही कामले जनतामा आशा जगाउने लक्षण देखाएको उहाँको भनाइ छ। ‘देशमा एउटा नयाँ सरकार बनेको छ, सरकार बन्नु, सरकार परिवर्तन हुनु मात्रै ठूलाे कुरा होइन, त्यसले जनताको मन जित्ने गरी कसरी काम गर्छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

सरकारले युवामा यो देशमा केही गर्न सकिन्छ भन्ने विश्वास जनाउनु पर्ने उहाँले बताउनुभयो । केही गर्न सकिँदैन भन्ने कुरालाई चिरेर सरकारलाई अघि बढ्न ज्ञवालीले शुभकामना दिनुभयो । आज निक्कै ठुलो परिवर्तन पछि पनि देशले अपेक्षित उपलब्धि प्राप्त गर्न नसकेको ज्ञवालीले बताउनुभयो । देशमा बेरोजगारी, विदेश पलायन लगायतका समस्या रहेको बताउँदै उपमहासचिव ज्ञवालीले यो स्थितिमा प्रभावकारी हस्तक्षेपको आवश्यकता औँल्याउनुभयो ।

देशमा, राजनीति, शिक्षा, स्वास्थ्य, विकास लगायतका धेरै क्षेत्रमा समस्या भए पनि समस्या समाधान गर्न सकिने ज्ञवालीले बताउनुभयो । समग्र समाज आफैँ एउटा समस्याको सिलसिलाबाट गुज्रिरहेको भए पनि नेपालले उज्जल भविष्यको निम्ति एउटा प्रस्रव पीडा भोगिरहेको ज्ञवालीको धारणा छ । ‘परिवर्तन गर्न सकिन्छ, देशको भविष्य प्रति आश्वस्त बनौँ’, उहाँले भन्नुभयो ।

कहिल्यै कसैको उपनिवेश नभएको गौरवपूर्ण इतिहास बोकेको देश नेपाल भएको बताउँदै ज्ञवालीले यति बेला देश सबै खालका तानासाही शासन व्यवस्थालाई पराजित गरेर लोकतन्त्रको बिहानीमा अघि बढेको बताउनुभयो। आज देशले भोगिरहेका अल्पविकसित, बेरोजगारी र पछौटेपन अवश्य पनि पराजित हुने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो। ‘यो स्थिति अवश्य पनि अन्त्य हुने छ, देश सुन्दर बन्ने छ, उज्वल बन्ने छ, संसारका विकसित देशको हाराहारीमा नेपाललाई पुर्‍याउन सक्ने छौँ हामीले’, उपमहासचिव ज्ञवालीले भन्नुभयो ।