अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले अन्त जाने अनुमति दिएन: सुहाङ नेम्वाङ

इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले अन्त जाने अनुमति दिएन: सुहाङ नेम्वाङ


काठमाडौं-नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र-२ का उम्मेदवार सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि बुवाप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासले आफूलाई केही गर्ने हुटहुटी, खुशी र उत्साही भएको बताउनु भएको छ।

२०८० चैत ११ गते एमालेको सचिवालयको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुबा सुवास नेम्वाङको सपना पूरा गर्ने बताउनु भएको हो।

सोमबार सामाजिक सञ्जालमार्फत उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै सुहाङ नेम्वाङले इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले अन्त जाने अनुमति नदिएको उल्लेख गर्नुभएको छ।

‘हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ। यसो भनौं, ‘आफ्नो बाटो आफैं खन्दै थिएँ।’  मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए,’ उहाँले लेख्नुभएको छ, ‘तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोसा र विश्वासले मलाई पक्रिरह्यो। बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो। आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन। र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है।’

उहाँले आफू उम्मेदवार बन्दैगर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राखेको बताउनु भएको छ ।

उहाँले अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भए पनि अकल्पनीय आकस्मिकता आइलागेको स्मरण गर्दै भन्नुभएको छ, ‘इलामेली वृद्ध बुवा आमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु।’ 

सुहाङ नेम्वाङको भनाई जस्ताको त्यस्तै:

हार्दिक आभार तथा धन्यवाद !

आगामी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं. २ को उप-निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले)ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। म खुशी र उत्साही छु।

यो महत्त्वपूर्ण अवसरको निम्ति हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु। उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा (एमाले) इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु।

मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरूप्रति कृतज्ञ छु। तपाईँहरूको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमूल्य सम्पत्ति हो। अप्ठ्यारो परिस्थितिमा मलाई हौसला, ऊर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरूलाई धन्यवाद भन्छु। आभार।

पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरू सबैप्रति म असाध्यै आभारी छु। एकमुष्ठ धन्यवाद भन्न चाहन्छु।

यहाँहरूलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभा निर्वाचन-२०७९ मा इलामेली आदरणीय जनताहरूले मेरो बुवा उहाँहरूको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो। तर, हामीलाई अकल्पनीय बज्रपात आइलाग्यो । भौतिक रूपमा हामीलाई छोडेर जानुभयो। उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थिति आइलाग्यो।

गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवा आमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरूको सुख दुःख थाहा पाएको थिएँ । भविष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरूको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उँचो विश्वास र भरोसा सहित उहाँले भविष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिँदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरूका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ ।

गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरूले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोसा र विश्वास मेरो लागि कति भव्य थियो ? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन। मलाई लागेको थियो, ‘अझै थुप्रै वर्षहरू बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु। जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर विडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय बज्रपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरू पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो ।

हो, बुवालाई राजनीतिमा साथ दिँदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौँ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन् सजिला र फराकिला बाटाहरू स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरूको आशा, भरोसा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरूले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरूतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है।’

त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु। उहाँहरूको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु। उहाँहरूप्रति असाध्यै ऋणी छु। रहनेछु।

हो ! म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ। यहाँनिर फेरि स्पष्ट गर्न चाहन्छु, केवल परिस्थितिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापि होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईँको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद ।

धन्यवाद । नमस्कार !

सुहाङ नेम्वाङ
नेकपा (एमाले) को तर्फबाट

प्रतिनिधिसभा सदस्य उम्मेदवार

इलाम क्षेत्र नं. २