अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौं: मन्त्री पाण्डे

पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौं: मन्त्री पाण्डे


काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६औँ वार्षिक साधारण सभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ। 

साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ। पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो। उहाँले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी  पर्यटकहरू भित्र्याउन सकिने गरी विश्वास दिलाउनु पर्ने बताउनुभयो।

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको बताउनु भयो। उहाँले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताउनुभयो।