अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनुपर्छः मन्त्री चौधरी

राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनुपर्छः मन्त्री चौधरी


सप्तरी-युवा तथा खेलकुदमन्त्री तैजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठासमेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको हो। मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएकाले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो।

नेपालमा क्रिकेट रङ्गशालाको अभावलगायत समस्या भए पनि खेलाडीको मेहनत, नेपाल क्रिकेट सङ्घको योगदान, खेलप्रेमीको मायाले खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित भएको भन्नुहुँदै उहाँले अब खेलाडीलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधारको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो। ‘सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित छन्, खेलाडीहरू राष्ट्रका गहना हुन् तर हामीले सुविधा र भौतिक पूर्वाधार दिन सकेका छैनौँ’, उहाँले भन्नुभयो। 

मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजरगरी मधेस प्रदेश राजधानी जनकपुरधाम, वीरगञ्ज र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताउनुभयो । उहाँले एघारौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने विश्वास दिलाउनुभयो। 

त्यस अवसरमा बोदेबरसाइन नगर बजार व्यापार सङ्घका पदाधिकारीले मन्त्री तैजुलाल चौधरीलाई स्वागत गर्दै बजारको विकासका लागि भन्सार कार्यालय स्थापना, कबडहल र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापनाका लागि आग्रह गरेका थिए।

मन्त्री चौधरी सप्तरी निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ।