अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुुखहरुसहित आइतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकुल र वस्तुनिष्ट बनाउनुपर्ने बताउनुुभएको हो।

उहाँले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गर्नुभयो। ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभयो। ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ।

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताउनुुभयो भने गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभयो।