काठमाडौँ-उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व-२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो।
उपसभामुख रानाले व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकाक्षा पूरा गर्न यस पर्वले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो। उहाँले हरेक समुदाय र क्षेत्रमा आफ्नो आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको मौलिक सांस्कृतिक विशेषता रहेको बताउनुहँदै भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेषभूषा र सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्नुभयो।
‘नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात् गरेको छ। छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु’, उपसभामुख रानाले भन्नुभएको छ।
प्रतिक्रिया