अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव नजिकिँदै गर्दा रास्वपा छोड्नेको लहर, वडा सभापतिले पनि छोडे पार्टी

चुनाव नजिकिँदै गर्दा रास्वपा छोड्नेको लहर, वडा सभापतिले पनि छोडे पार्टी


काठमाडौं-चुनाव नजिकिँदै गर्दा पछिल्लो समय असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी छोड्नेको लहर नै चलेको छ। यसैबीच, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)काे बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पनि पार्टी परित्याग गर्नुभएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपामै सुरूवातदेखि रहेका व्यक्तिलाई टिकट नदई नेपाली कांग्रेसबाट आएका व्यक्तिलाई टिकट दिएको भन्दै असन्तुष्टि चुलिएका बेला उहाँले राजीनामा दिनुभएकाे हाे ।

रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेसबाट रास्वपाका आएका बिक्रम खनाललाई टिकट दिएको थियो। २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए।

संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न उनले मुख्य भूमिका खेलेका थिए। यही योगदानका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने दृढ मान्यता स्थानीय पार्टी पंक्तिमा रहेको थियो, र ठकुरी स्वयं पनि टिकट पाउनेमा विश्वस्त थिए। तर ठकुरीले टिकट नपाएपछि रास्वपाका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गर्नुभएको छ। फागुन ७ गते बिहीबार हुमागाईंले रास्वपाको प्रदेश उपसभापति पद र पार्टीबाट साधारण सदस्यता समेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवारसमेत रहेका हुमागाईंले वर्षौदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाउनुभयाे । हुमागाईंले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाउनुभएको छ।

यस्तै २०८२ फागुन ६ गते बुधबार मात्रै रास्वपाको मधेस प्रदेश समितिको संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गर्नुभएकाे छ । उहाँले संगठनमा योगदान गरेकाहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको भन्दै पार्टी परित्याग गर्नुभएको हाे।

यसैगरी २०८२ फागुन ६ गते बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य तथा नेता खेमकुमारी भुर्तेल (उर्मिला)ले पार्टीको साधारण समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे छ। पार्टीमा विधि र विधानविपरीतका क्रियाकलापले बढावा पाएको कुराको साक्षी बस्न नसक्ने भन्दै उहाँले राजीनामा दिनुभएकाे थियाे।

२०७९ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी भुर्तेलले पनि पार्टीमा निरन्तर खटिएका क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको र आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप लगाउनुभएकाे छ।

‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु,’ भुर्तेलले भनिन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ । तर, पार्टी विधि, विधान विपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको । जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु।’

यसअघि २०८२ माघ २२ गते रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुभएकाे थियाे ।

यस्तै रास्वापा सभापति रवि लामिछानेका विश्वास पात्रको रूपमा चिनिएका डा. प्रणय शमशेर राणाले माघ २९ गते प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार नचलेको र आर्थिक अपारदर्शिताको अवस्था कायम रहेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएको थियाे। उहाँले पार्टीमा ‘प्राइमरी इलेक्सन’ गर्ने भनिए पनि ५० प्रतिशत चलखेलको गरेको आराेप लगाउनुभयाे।

त्यसअघि  २०८२ कात्तिक २८ गते  पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोड्नुभएकाे थियाे । यसैगरी  २०८२ असोज १० गते रवि लामिछानेको अपराधको साँची बन्न नसकिने भन्दै केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले समेत राजीनामा दिनुभएकाे थियाे।

यस्तै २९ भदौ गते नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै केन्द्रीय सदस्य सुमना श्रेष्ठले र हरि भट्टले पनि राजीनामा दिनुभएको थियाे । जेनजी पुस्ताको विद्रोहपछि रास्वपामा राजीनामा दिने क्रम बढेको छ।