काठमाडौँ-नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ। फागुन ७ गते बिहीबार राति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो।
एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका साथ नाराबाजी गर्दै महासचिव शंकर पोखरेलको गृह नगरमा अराजक शैली प्रदर्शन गरेको उल्लेख छ। एमालेले यस घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी ‘सूर्य’ चिन्ह अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घट्नाले पुष्टि गरेको छ। र, यो अराजकता, उद्दण्डता र अपराधिक घट्नाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ। एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य हो। हाम्रो पार्टीले आगामी फागुन २१ को चुनाव ‘देश जलाउने र बनाउने ‘बीचको जनमत सङ्ग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज ‘सूर्य’ ध्वजावाहक झण्डा जलाएको घट्ना संयोग मात्रै होइन।’
देश जलाउनेहरूबाटै आज नेकपा (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको एमालेले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। प्रतिस्पर्धाकै लागि चुनावी माहोलमा होमिएको एउटा स्थापित राष्ट्रिय शक्ति एमालेको आस्थामा चोट पुऱ्याउने काम रास्वपाले भन्ने गरेको ‘नयाँको मानक’ बन्न सक्ला । तर यो लोकतन्त्रको परिधिभित्र पर्दैन ।’
एमालेले यसलाई लोकतन्त्रको परिधिबाहिरको कार्य भन्दै रास्वपाको यो हर्कतले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ। दलिय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि रास्वपाले नयाँको नाममा एउटा स्थापित राष्ट्रिय शक्तिको आस्थामा चोट पुर्याउने काम गरेको एमालेको ठहर छ।
एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ। घटनामा संलग्नहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत एमालेले गराएको छ ।

कडा प्रतिकार गर्ने एमालेको चेतावनी
रास्वपा कार्यकर्ताले हिजो एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएको थियो। नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ। तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो।
सुर्खेतबाट राति रवि लामिछाने तुलसीपुर हुँदै घोराही पुग्नुभएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ, जसले आगामी निर्वाचनसम्म शान्तिपूर्ण वातावरण कायम रहला कि नरहला भन्ने चासो बढाएको छ।
यसै सन्दर्भमा नेकपा (एमाले) दाङले घटनाप्रति कडा आपत्ति जनाउँदै घोर भत्र्सना गरेको छ। जिल्ला सचिव श्याम डाँगीले प्रचार सामग्री खोसेर जलाउने र सार्वजनिक सवारी साधनमा तोडफोड गर्ने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको बताउनुभयो। उहाँका अनुसार निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विषयमा आशंका उत्पन्न गरेको छ। उहाँले सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ।
‘निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ। लोकतन्त्र विरोधी यस्तो कार्यले निर्वाचन मुठभेडतर्फ जान सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ’, सचिव डाँगीले भन्नुभयो।
घटनापछि एमालेका केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमार्फत् तीखा प्रतिक्रिया जनाएका छन्। केन्द्रीय सदस्य शान्ता चौधरीले आस्थाको प्रतीक झण्डा जलाउने कार्य असह्य हुने उल्लेख गर्दै संयमता कमजोर पार्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ। शान्ता चौधरीले लेख्नुभएको छ, ‘सलाइ र लाइटर बालेर हाम्रो आस्थाको प्रतीक झण्डा जलाउने तिम्रा हातहरू, हामी दही जमाएर बस्ने छैनौँ।’
त्यस्तै कोमल वलीले उक्त गतिविधिलाई घोर निन्दनीय र अराजकतापूर्ण भन्दै लोकतान्त्रिक सहिष्णुतामाथिको प्रहार भएको टिप्पणी गर्नुभएको छ। उहाँले राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु समग्र लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको बताएकी छन् र निर्वाचन आयोगको आचारसंहिता उल्लंघन भएको दाबीसमेत गर्नुभएको छ।
‘दाङ तुलसीपुरमा नेकपा (एमाले)को झण्डा च्यात्ने तथा जलाउने गतिविधि घोर निन्दनीय, अस्वीकार्य र पूर्ण रूपमा अराजकतापूर्ण छ। राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो तर प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु लोकतान्त्रिक संस्कारमाथिको प्रहार हो। लोकतन्त्र भनेको असहमतिको सम्मान गर्ने प्रणाली हो, हिंसा र द्वेष फैलाउने माध्यम होइन”, लेख्नभएको छ।






प्रतिक्रिया