काठमाडौं-काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’को नागरिकतामा भएको थर परिवर्तनको गृहमन्त्रालयमा उजुरी परेको छ।
गृहमा बालेन्द्रको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह उजुरी परेको हो। २०८२ फागुन ८ गते शुक्रबार युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिनुभएको हो।
साहले आफूखुसी थर परिवर्तन गरेकाले बालेन्द्रको नागरिकता रद्द गर्न तथा ५ वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गर्नुभएको छ।
बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ। उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ।
उजुरीमा भनिएको छ, ‘बालेन्द्र साहले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बर रहेको बंशजको नागरिकता लिएको निजको नागरिकतामा थर साह उल्लेख गरिएको तर निजले काठमाडौं महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०७९ असार १९ गतेका दिन नागरिकताको प्रतिलिपी लिँदा भने आफ्नो थरमा शाह उल्लेख गरेको देखियो । निज बालेन्द्र साहले झुठो विवरण (थर) परिवर्तन गरी नागरिकताको प्रतिलिपी लिएर नागरिकता ऐन, २०६३ सम्बन्धी कसूर गरेकोले निजलाई नागरिकता ऐन सम्बन्धी हदैसम्मको कारबाही गर्न प्रस्तुत निवेदन पेश गरेकी छु ।’
नेपाल नागरिकता ऐन २०६३ को दफा १२ मा कुनै पनि नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आए तोकिएको अधिकारीले त्यस्तो नागरिकता रद्ध गर्नेछ भन्ने कानुनी व्यवस्था गरेको छ।







प्रतिक्रिया