अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको झण्डा जलाउनेलाई तत्काल कारबाही गर्न नेसनल भोलेन्टियर्स फोर्सको माग

एमालेको झण्डा जलाउनेलाई तत्काल कारबाही गर्न नेसनल भोलेन्टियर्स फोर्सको माग


नेकपा (एमाले)को युवा संगठन नेसनल भोलेन्टियर्स फोर्सले पार्टीको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउनेलाई तत्काल कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी झण्डा जलाउनेलाई कानुनी कारबाही नभए ‘नेसनल भोलेन्टियर फोर्स अन्याय, अराजकता र चरित्रहत्याविरुद्ध सशक्त रूपमा उभिने’ चेतावनी दिनुभएको छ।

हिजो दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको तथा एमाले नेतृत्वविरुद्ध अपशब्दसहित नाराबाजी गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमालेजन आक्रोशित बनेका छन्।

‘राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गरिन्छ, आगो र अराजकताबाट होइन। झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्य लोकतान्त्रिक होइन, अराजक मानसिकताको प्रतीक हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्तिले राजनीतिक संस्कारलाई ध्वस्त पार्ने मात्र होइन, सामाजिक सद्भावसमेत बिगार्ने खतरा पैदा गर्दछ भन्ने त्यो बेहोस भिडलाई जानकारी नहुन सक्छ। उक्त घटनाको तत्काल छानबिन गरियोस्, यस्ता अराजक गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय बनोस् र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गरियोस्।’ 

नेसनल भोलेन्टियर फोर्सका कमान्डर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यस प्रकारका निर्वाचन बिथोल्ने कार्यप्रति राज्य संयन्त्र मौन बस्छ भने त्यसले कानूनप्रति जनविश्वास गम्भीर रूपमा कमजोर बनाउने जनाएका छन्।