अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाए: एमाले नेता पण्डित

आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाए: एमाले नेता पण्डित


विराटनगर-नेकपा (एमाले)का नेता लालबाबु पण्डितले आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाएको आरोप लगाउनुभएको छ। मोरङको बूढीगंगा गाउँपालिकाको कोयलपुरमा आज पत्रकार सम्मेनल गर्दै नेता पण्डितले एमालेले अघि बढाएका बहुवर्षीय योजनालाई कांग्रेसले तोडमोड गरी प्रस्तुत गरेको दाबी गर्नुभयो।

मोरङ क्षेत्र नं. ६ का पूर्व सांसद समेत रहनु भएका नेता पण्डितले विशेषगरी कोयलपुर–रानी सडक खण्डजस्तो बहुचर्चित गौरवको आयोजनालाई उदाहरण दिँदै सो योजना आफ्नै कार्यकालमा सुरु गरिएको र शिलान्यासदेखि प्रारम्भिक कार्यान्वयनसम्म महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो । नेता पण्डितले कुनै पनि दीर्घकालीन योजना रातारात तयार नहुने स्पष्ट पार्दै गुरुयोजना निर्माणमै ९ महिना लागेको स्मरण गराउनुभयो । ‘झुटो कुरा झुट्टै हुन्छ, चाहे त्यो ठूलाले बोलून् या सानाले,’ भन्दै उनले शिलान्यास स्तम्भ नै प्रमाणका रूपमा उभिएको दाबी गर्नुभयो । आफू जनप्रतिनिधि नरहेपछि ती योजनाहरूले निरन्तरतामा पाउन नसकेको बताउँदै पण्डितले विकासको जस लिन खोज्नेहरूमाथि प्रतिवाद गर्नुभयो।

मोरङ–६ बाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि आफूले विकासका धेरै काम गरहेको उहाँको भनाइ छ । २०७४ सालमा उनले कांग्रेसका डा. कोइरालालाई पराजित गर्नुभएको थियो । २०७९ सालको निर्वाचनमा भने पण्डित कोइरालासँगै पराजित हुनु भएको थियो । २०७९ सालको निर्वाचनपछि आफू प्रत्यक्ष भूमिकामा नरहे पनि आफ्नो कार्यकालमा अघि बढाइएका योजनाहरूको अभिलेख सुरक्षित रहेको पण्डितले बताउनुभयो ।

नेता पण्डितले वर्तमान राजनीतिक प्रतिस्पर्धालाई ‘विकास गर्ने र नगर्ने शक्तिबीचको लडाइँ’को संज्ञा दिनुभयो । उहाँले विकासको एजेन्डालाई नै मुख्य मुद्दा बनाउनुपर्नेमा जोड दिँदै एमालेले गरेका कामलाई तथ्यसहित जनतामाझ लैजाने बताउनुभयो । नयाँ राजनीतिक शक्तिहरूप्रति समेत उहाँ आक्रामक देखिनु भएको थियो । सामाजिक सञ्जालमा मात्रै सक्रिय रहने प्रवृत्तिलाई लक्षित गर्दै उनले त्यस्ता समूहलाई ‘फेसबुके पार्टी’को संज्ञा दिनुभयो । मोरङ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार विनोद ढकाल बुवाको निधनपछि कोरामा बस्नु भएको छ । ढकालको अनुपस्थितिमा चुनावी अभियानको नेतृत्व पण्डितले सम्हालिरहनु भएको छ । उहाँले अभियानलाई विकासको निरन्तरतासँग जोड्दै मतदातासमक्ष तथ्य र कामका आधारमा समर्थन माग्ने रणनीति अघि सार्नुभएको छ । पछिल्लो समय राजनीतिक बहससँगै मोरङ क्षेत्र नम्बर ६ मा विकासको दाबी र आरोप प्रत्यारोपले चुनावी माहोल तातेको छ । एमालेले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गरिरहेको छ । त्यति मात्रै हैन, आफ्नो कार्यकालमा भएका काममा कांग्रेसले जस लिन खोजेको आरोप एमालेको छ ।

नेता पण्डितले आफ्नो कार्यकालको कामलाई देखाएर डा. शेखर कोइरालाले भोट माग्दै अनेक भ्रम फैलाउन खोजेको उल्लेख गर्नुभएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि मोरङ–६ बाट एमालेका ढकाल, कांग्रेसका डा. कोइराला, रास्वपाकी रुविना आचार्य, नेकपाका ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार छन् ।