अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पाँच औद्योगिक क्षेत्र शिलान्यास हुँदै, प्रधानमन्त्री कञ्चनपुरमा

पाँच औद्योगिक क्षेत्र शिलान्यास हुँदै, प्रधानमन्त्री कञ्चनपुरमा


काठमाडौं– मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको ५ वर्षपछि देशका विभिन्न ५ स्थानमा औद्योगिक क्षेत्रको औपचारिक शिलान्यास हुने भएको छ ।

२०७२ चैत १ गते मन्त्रिपरिषद्‍ बैठकले झापाको दमक, मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। घोषणा भएको ५ वर्षपछि यी औद्योगिक क्षेत्रलाई एक सातासम्म हरेक दिनजसो शिलान्यास कार्यक्रम गर्ने सरकारको तयारी छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य निरुदेवी पालले जानकारी दिनुभयो । फागुन १६ गतेसम्ममा पाँचै औद्योगिक क्षेत्र शिलान्यासको कार्यक्रम सम्पन्न गर्ने तयारी सरकारले अघि बढाएको हो।

सरकारको पूर्ण स्वामित्व भएको कम्पनी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यी परियोजना निर्माणका लागि काम गर्दै आएको छ। हालसम्मको अवधिमा प्रारम्भिक चरणका सबै काम सकिएको र अब पूर्वाधार निर्माणको काम शुरु गर्न बाँकी रहेको कम्पनीको भनाइ छ।

लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले यी पाँचै औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० र जग्गाको मुआब्जा वितरणका काम सम्पन्न भएको बताए। अबको ६ महिनाभित्र दोस्रो चरणका दुई औद्योगिक क्षेत्र बनाउन थालिने समेत उनले बताए। उनका अनुसार दाङको धर्ना र चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउन थालिने छ।

शिलान्यासको तयारीमा रहेका सबै औद्योगिक क्षेत्रहरू आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने अध्यक्ष बस्नेतको दाबी छ।

साताव्यापी शिलान्यास कार्यक्रम


सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण गर्ने गरी घोषणा भएको दैजी(छेला औद्योगिक क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्नुहुनेछ । त्यस्तै लुम्बिनी प्रदेशको बाँके जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र फागुन ११ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम छ ।

लुम्बिनी प्रदेशकै रुपन्देही जिल्लामा मोतिपुर औद्योगिक क्षेत्र १३ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुहुनेछ भने १४ गते बागमती प्रदेशको मकवानपुर जिल्लाको मयुरधाप औद्योगिक क्षेत्र उद्योगमन्त्री भट्टले उद्घाटन गर्नुहुनेछ भने १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा नेपाल(चीन मैत्री औद्योगिक पार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।