बझाङ- बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन् ।
घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयाबहादुर रोकायालाई भने १ लाख धरौटीमा रिहा गर्ने आदेश भएको तर सो रकम तिर्न नसकेपछि उहाँलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिनुभयो ।
हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुणा प्रहार गरी हत्या गरेको बताइएको छ ।
प्रतिक्रिया