काठमाडौं- प्रतिनिधिसभाको बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन प्रवेश गर्नु भएको छ । पुनःस्थापनापछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतले गत फागुन ११ गते संसद् पुनर्स्थापना गरेपछि सातौं अधिवेशन आजदेखि सुरु भएको हो ।
संसद् सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुने भएको छ । यसैगरी राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ ।
अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ ।
पहिलो दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ । अन्तिम कार्यसूची तयार गर्न भने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन छ ।
प्रतिक्रिया