काठमाडौं- माइतीघर मण्डलामा आइतबार साँझ एउटा नयाँ नारा घन्कियो । झण्डै तीन वर्षदेखि बिरानो हुँदै गएको नेकपा (एमाले) भन्ने शब्दावली आज एक्कासि बढी प्रयोग भएको छ ।
सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता भंग गरेको फैसला गरेपछि एमाले पार्टीका नेता र जनवर्गीय संगठनका कार्यकर्ताहरू उत्साहित भएर एमाले र सूर्य चिन्ह अंकित झण्डासहित ठाउँठाउँमा निस्किएका छन् । यसैक्रममा माइतीघर मण्डलामा अनेरास्ववियूका कार्यकर्ताहरूले एउटा गीत घन्काएका छन्, ‘गाउँबेसी शहर, एमालेको लहर ।’
दीप प्रज्जवलन तथा कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महरले नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउनुभएको छ ।
महरले तीनबर्ष अघि वृहत कम्युनिष्ट आन्दोलनको परिकल्पना गर्दै प्रधानमन्त्री ओलीले माओवादीसँग पार्टी एकता गरेको बताउनुभयो । ‘त्यसलाई पार्टी एकता भने पनि वास्तवमा त्यो एमालेमा माओवादीको समायोजन थियो,’ महरले भन्नुभयो ।
माओवादीलाई अस्तित्व जोगाइदिन केपी शर्मा ओलीले सहारा दिएकोमा अहिले नै पार्टी कब्जा गर्न खोज्दा अहिलेको परिणाम भोग्नु परेको बताउनुभयो । उहाँले अब नेकपा एमाले र सूर्य चिन्ह आफ्नो भएकोले यसले देशैभरी खुसीको सञ्चार गरेको बताउनुभयो ।
प्रतिक्रिया