हरेक क्षेत्रमा एक तिहाइ महिला भनिएता पनि कुनै पार्टीको केन्द्रीय कमिटीमा महिला सहभागिता सुनिश्चित भएको छैन । पार्टीको भुँइ तहमै ३३ प्रतिशत पुर्याए मात्र, गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै ३३ प्रतिशत महिला सहभागिता पुर्याउन सकिन्छ ।
महिला सहभासष्को कुरा गर्दा पञ्चायत, बहुदलीय व्यवस्था, लोकतान्त्रिक गणतन्त्रको अवस्था २००७ साल देखि २०७५ सम्म आइपुग्दा ६८ वर्ष मा १५०० पुरुष मन्त्री हुँदा महिला मन्त्रीको संख्या ७२ मात्र छ । नेपाली राजनीतिमा २०१६ सालमा पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी हुनुन्थ्यो भने पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी हुनुन्छ । हाल को वर्तमान सरकारमा मन्त्रिपरिषदमा १७ प्रतिशत मात्र महिलाको सदस्य अर्थात चार जना महिला नेताको सहभागिता रहेको अवस्था छ । स्थानीय सरकारमा ४० प्रतिशत महिलाको सहभागिता छ भने प्रदेश सरकारमा ३१स्२७५ सहभागिता रहेको पाइन्छ ।
राजनीतिभित्र षडयन्त्रमात्रै होइन हिंसा पनि हुन्छ । अहिले अमेरिका र भारत भन्दा संसदमा महिला प्रतिनिधित्व बढी छ । तर संख्या बढी भएर मात्र हुन्न । अवसरलाई चुनौतीको रुपमा सदुपयोग गर्नुपर्छ । दल भित्र गुटगत हिंसा पनि मौलाएको पाइन्छ । एक गुटले अर्को गुटको महिलालाई खेदो गर्ने गरेको पाइन्छ । प्रभावशालीको समर्थनमा समूह तयार भए गुटबन्दी गरेको आरोपमा तिलको पहाड बनाएर सानातिना त्रुटिलाई आलोचना गर्दै कारबाही गरेर चरित्र हत्या समेत गर्दै पाखा लगाउन खोजिन्छ । एउटै गल्ती महिला र पुरुषले गरेको छ भने पुरुषलाई सफाइ दिइन्छ तर महिलालाई दोषी बनाइन्छ ।
चुनावको बेलामा उम्मेदवार छनौट टिकट वितरण सबैमा महिलाले आफू योग्य भएको योग्यता प्रस्तुत गर्न पाएका हुँदैनन् । कतिपय स्थानमा महिलाले म आफू उम्मेदवारीको निम्ति योग्य छु, चुनाव नजिते पार्टीको कारबाही भोग्न तयार छु भनेर टिकटको उम्मेदवारी को दाबी गर्दा आफ्नो प्रतिबद्धता जनाउँदा पनि टिकट नदिएको अवस्था पाइन्छ । जति नै जनताको बीचमा भिजे पनि आफ्नो कार्यक्षेत्रमा परिभाषित जिम्मेवारी ग्रहण गरिरहेको भए पनि महिलाको कामको उचित मूल्यांकन गरिन्न यो पनि राजनीति भित्रको महिला हिंसा नै हो ।
कतिपय महिला दिदीबहिनीहरुले आफ्नो अधिकार आफ्नो भूमिकालाई कहाँ कसरी आफू लाई व्यवस्थित गर्ने अलमलमा पारिएको पनि अवस्था छ । हिजो भूमिगत कालिन अवस्था देखि सक्रिय महिला अहिलेसम्म पनि वडा कमिटीको इन्चार्ज भन्दा माथि जान नदिएको अवस्थाहरु पनि छन् । हिजो पार्टी अप्ठ्यारोमा परेको बेला म एउटा महिला हुँ, म घर परिवार छ, बच्चा छ भन्ने सोच भन्दा माथि उठेर आफ्ना निजी ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश जनता र पार्टीको लागि अहोरात्र खटेका,आन्दोलनमा सडकमा जीवन बिताएका, कयौंपटक गिरफ्तारी र नजबन्द, जेल जीवनका कष्टकर भोगाइ भोगेका महिलाहरुले राज्यको सुखद अवसर सग बन्चित हुनु पनि राजनीति भित्रको महिला हिंसा हो ।
राजनितिभित्र महिला नेतामाथि हुने आक्रमणको अन्त्य हुन पर्छ अनि मात्र सुखी नेपालको परिकल्पनामा मुठ्ठी उठाएर हिडेका महिलाहरु खुसी हुनेछन् ।
प्रतिक्रिया