वीरगन्ज– उपप्रधानमन्त्री ईश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मालोचनाको मौका दिइने बताउनुभएको छ ।
बिहीवार प्रेस संगठन पर्साले वीरगनजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई एक पटक आत्मालोचनाको मौका दिइने बताउनुभएको हो ।
पोखरेलले पार्टीमा नेताहरुको व्यवस्थापनबारे छलफल भइहेको जानकारी दिनुभयो । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उहाँको भनाइ छ, ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’
पोखरेल रौतहटको मौलापुर नगरपालिकाको पत्रौरामा महाशिवरात्रिको दिन आयोजित महायज्ञको कार्यक्रममा सहभागी हुन बुधबार साँझ वीरगन्ज आउनुभएको हो ।
वीरगन्ज नाका छिट्टै खोलिन्छ

पोखरेलले कोरोनाका कारण बन्द रहेका भारतीय सिमा तत्काल खोल्ने तयारी रहेको बताउनुभएको छ । कोरोनाका कारण गत चैत देखि बन्द गरिएका सिमा नाका कोरोनाको प्रभाव कमजोर भइसक्दा पनि खुलेका छैनन् । जिल्लामा रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समिती (डिसीसीएमसी)ले गरेको सिफारिसका आधारमा केन्द्रमा रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितीले नाका खोल्न सरकारलाई सिफारिस गर्ने पोखरेलले बताउनुभएको छ । ‘अब (डिसिसीएमसी) ले गरेको सिफारिसको आधारमा (सिसिएमसी) ले नाका खोल्ने सिफारिस सरकारलाई गर्नेछ । यसका लागि अब धेरै दिन लाग्दैन,’ उहाँले भन्नुभयो ।
पोखरेल सिसिएमसीका संयोजक हुनुहुन्छ ।
प्रतिक्रिया