अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक : प्रचण्ड

संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक : प्रचण्ड


बुटवल- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताउनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गर्नुभयो ।

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गर्नुभयो । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’

सो अवसरमा काङ्ग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभयो । ‘अहिले मुलुकमा दुई राजनीतिक धार देखिएका छन् ।

एउटाले संविधानको रक्षा गर्न चाहन्छ, अर्कोले उल्टाउन चाहन्छ,’ संसदीय दलका प्रमुख सचेतक खाँणले भन्नुभयो, ‘तर संविधान कसैले च्यातेर च्यातिँदैन । जसले च्यात्न खोज्छ, उही समाप्त हुन्छ ।” खाँणले बहुदलीयताको मान्यतालाई स्वीकार गरी संविधानको रक्षाका लागि सबै अघि बढ्नुपर्ने बताउनुभयो ।