काठमाडौं- न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाललाई सिफारिस गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई आज बसेको न्यायपरिषद् बैठक सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश हुनुहुन्छ । त्यस्तै, चुँडाल बागमतीका मुख्य न्यायाधीशको जिम्मेवारीमा हुनुहुन्छ । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए ।
बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको छ । नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराका न्यायाधीशमा सिफारिश गरिएको हो ।
न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको छ ।
बैठकले अधिवक्तातर्फबाट रसुवाका फुर्पा तामाङ, सिरहाकी श्रीधराकुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनमसिंह चन्द, काभ्रेपलाञ्चोकका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम उच्च अदालतका न्यायाधीशमा सिफारिश गरेको छ ।
त्यस्तै, जिल्ला न्यायाधीशमा जगत्नारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेलको नाम सिफारिश भएको छ ।
प्रतिक्रिया