अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो खनाल-नेपाल समूहको गुटगत भेला

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो खनाल-नेपाल समूहको गुटगत भेला


काठमाडौं- नेकपा (एमाले) झलनाथ-माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायतमा विभिन्न १७ बुँदे प्रस्ताव पारित गरेको छ । उक्त समूहको यही चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलाले एकता जोगाउनुपर्ने माग गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विधिअनुरुप बैठक बोलाउनसमेत माग गरिएको छ ।

‘सर्वोच्च अदालतको फैसलाअनुरुप नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणपूर्वको पार्टीको सङ्गठनात्मक स्थितिलाई स्वीकार गरी गत फागुन २८ गते सरकारी निवास बालुवाटारमा गरिएका निर्णय रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ,’ प्रस्तावमा भनिएको छ ।

प्रस्तावमा सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गर्नाका साथै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसङ्गठन र पेशागत सङ्गठनलगायत सबै संरचना उक्त दुई कम्युनिष्ट पार्टीको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धतिसम्मत हुने उल्लेख छ । यसरी पार्टीलाई विधान, विधि र पद्धतिअनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने भेलाको निष्कर्ष छ ।

सर्वोच्च अदातलको फैसलामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समयको उपयोग गर्दै पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाइ छलफल गर्नुपर्ने मागसमेत भेलाले गरेको छ ।

राष्ट्रिय स्वाधीनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समाजवादउन्मुख शासन प्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन भेलाले सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहलाई आह्वान गरेको छ ।

त्यस्तै, भेलाले कोरोनाको महामारीबाट जनतालाई जोगाउनका लागि भरपर्दो खोपको व्यवस्था गर्न माग गरेको छ ।