अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बन्‍न नपाएपछि त्यसैलाई प्रतिगमन भन्‍न थालियो : मन्त्री ज्ञवाली

प्रधानमन्त्री बन्‍न नपाएपछि त्यसैलाई प्रतिगमन भन्‍न थालियो : मन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा नहुँदा त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘हामी कहाँ निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले संकटमा जनतालाई सेवा गर्न पाउँदाको अग्रगमन केही नहुने बताउनुभयो । ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, पद नपाउँदा प्रतिगमन हुने, तर हाम्रा निम्ति काठमाडौंका काकाकुलजस्ता परेका नागरिकहरूले पानी खान पाउँदाको जस्तो अग्रगमन केही हुँदैन,’ उहाँले भन्नुभयो ।

मन्त्री ज्ञवालीलले वर्षौंदेखि काठमाडौंवासीले काकाकुलले झैं पर्खिरहेको मेलम्ची आइपुगेको र केही दिनमै काठमाडौंवासीका घरका धाराधारामा पुग्ने बताउनुभयो ।

फागुन ११ गतेको सर्वोेच्च अदालतको फैसलालाई सम्मान गर्दै वर्तमान सरकारले विधिको शासन र संविधानको सर्वोच्चतलाई विश्वास गर्ने पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

‘हाम्रो पार्टी र वर्तमान सरकार विधिको शासन र संविधानको सर्वोच्चतामा विश्वास गर्छ, सरकारको दृष्टिकोण ताजा जनादेश उपयुक्त हुन्छ, जनताको अभिमत लिएर समस्या समाधान गर्न उपयुक्त हुन्छ भन्ने थियो । सर्वोच्चको फैसलाअनुसार संघीय संसदबाट राजनीतिक निकास खोज्न बाध्यात्मक स्थिति पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा पुनःस्थापनापछि जुन ढंगले अगाडि बढ्न खोजेका छौं, सुरूको बैठकले राम्रो संकेत गरेनन् ।’