पेरिस- कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा पनि झन् बढेका स्थानहरूमा सो लकडाउनको घोषणा गर्नुभएको हो ।
उहाँले यहाँका बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रो पटक लकडाउनको घोषणा गर्नुभएको थियो ।
तर, प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताउनुभएको छ ।
पहिलेका लकडाउनमा यहाँ एक किसिमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरूले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।
कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।
पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गर्नुभएको हो ।
यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।
विद्यालय भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्ड पूर्ण रूपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।
उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।
बिहीबार मात्रको तथ्यांकमा यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा २ सय ६८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
यसरी पछिल्लो समयमा फ्रान्समा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेहरूको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ ।
प्रतिक्रिया