अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीयरूपमा भाग लिँदै मन्त्री ज्ञवालीले मन्त्री ज्ञवालीले सरकारले नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानी योजना, सुनकोशी डाइभर्सन, नागढुङ्गा सुरुङमार्गलगायत महत्वपूर्ण काम गरेको स्पष्ट पार्नुभयो ।

‘मेलम्चीको पानी सुन्दरीजलमा पुगेको छ, अर्को हप्ता काठमाडौंवासीको धारामा पानी झर्छ,’ उहाँले भन्नुभयो, ‘पाँच जिल्लाको विकास गर्ने सुनकोशी डाइभर्सनको शिलान्यास गरेका छौँ, घण्टौँ जाममा परेर बिरामीले एम्बुलेन्सभित्रै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न नागढुङ्गा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ ।’ सगरमाथाको उचाइ नेपाल आफैँले मापन गरेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले जनतालाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले देशभर ३९६ अस्पतालको शिलान्यास गरेको उल्लेख गर्दै तामाकोशीको विद्युत् चाँडै बाल्न पाउने बताउनुभयो । देशले नयाँ उपलब्धि हासिल गरेर अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले कोभिड-१९ नियन्त्रण र रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै मन्त्री ज्ञवालीले कोरोनाबाट निको हुनेको सङ्ख्या ९८ प्रतिशत रहेको बताउनुभयो ।

विश्वका ६० मुलुकले सुरुवातमै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालले पनि प्रारम्भमै नागरिकलाई खोप उपलब्ध गराएको बताउनुभयो । ‘हामीले १७ लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौँ,’ उहाँले भन्नुभयो । कोरोनाविरुद्धको खोप उपलब्ध गराएकामा मन्त्री ज्ञवालीले भारत, चीन र संयुक्त राष्ट्रसङ्घप्रति आभार प्रकट गर्नुभयो ।