अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

झापामा हालसम्म ४५ हजारले लगाए कोरोना खोप

झापामा हालसम्म ४५ हजारले लगाए कोरोना खोप


झापा- झापामा हालसम्म ४५ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले जानकारी दिनुभयो ।

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २ सयले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल गाउँपालिकाका तीन हजार २४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।