अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली सरकारकै पक्षमा जसपा

ओली सरकारकै पक्षमा जसपा


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा उभिएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र जसपाका शीर्ष नेताबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सो वार्तामा जसपाले एमालेसँग सहकार्यका लागि तयारी अवस्थामा रहेको बताएको छ । तर, यसका लागि आफूहरूका माग पूरा हुनुपर्ने जसपाले बताएको छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार भेटवार्तामा क्रममा पुरानै मुद्दाका विषयमा छलफल भएको छ । ‘संविधान संशोधन, रेशम चौधरीको रिहाइलगायत हाम्रा मागमा प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ, उहाँले माग पूरा गरिदिने पनि बताउनुभएको छ,’ कर्णले भन्नुभयो ।

माग पूरा हुनासाथ सत्ता साझेदारीका लागि एमालेसँग सहकार्य गर्ने कुरा आफूहरूले प्रधानमन्त्री समक्ष राखेको कर्णले बताउनुभयो । ‘हामीले प्रधानमन्त्रीलाई भनेका छौँ,’ तपाईं काम गर्नुस्, समर्थनका लागि तयारी अवस्थामा छौँ,’ कर्णको भनाइ छ ।

कर्णसहित अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरू बालुवाटार पुग्नुभएको थियो ।

यसअघि पनि प्रधानमन्त्री ओली र एमालेले बनाएको कार्यदलसँग जसपाका नेताहरूले विभिन्न चरणमा छलफल गरिसकेका छन् । जसपाका एकथरी नेता एमालेसँग सहकार्य गर्न तयार छन् । तर, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरूले भने सरकारसँग सहकार्य गर्न नसकिने बताउँदै आउनु भएको छ ।