अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका ‘नयाँ पालुवा’लाई प्रतिनिधि परिषदमा समेट्ने तयारी

एमालेका ‘नयाँ पालुवा’लाई प्रतिनिधि परिषदमा समेट्ने तयारी


काठमाडौं- संसद विघटनलगत्तै तत्कालिन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि परिषदमा व्यवस्थापन गरिने भएको छ ।

पुष ६ र ९ गते अध्यक्ष ओलीले मनोनयन गरेका अधिकांश नेताहरू एमाले सम्बद्ध थिए । केन्द्रीय सदस्यको सपथ गरेर कार्यक्षेत्र फर्किएका उनीहरूलाई निर्वाचन आयोगले मान्यता दिएन । त्यसबेला निर्वाचन आयोगले प्रचण्ड समुहको अध्यक्ष हुनुभएका माधव नेपाललाई पनि अध्यक्षका रूपमा नचिन्ने बताएको थियो ।

एमाले माओवादी एकताका बेला आयोगमा बुझाएका अध्यक्षद्वय,महासचिव र २ सय ४१ जना केन्द्रीय सदस्यलाई मात्र मान्यता दिन सकिने बताएको थियो । आयोगको त्यो भनाइ आएपछि सबै केन्द्रीय सदस्यहरू पदमुक्त जस्तै भएका छन् ।

७ चैत २०७७ केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले ति केन्द्रीय सदस्यहरुको विषयमा खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले नव केन्द्रीय सदस्यहरूलाई ‘ढडेलो पछिका पालुवा’को संज्ञा दिँदै उनीहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।

फागुन २३ मा सर्वाेच्च अदालतले नेकपालाई भंग गरेर एमाले माओवादीको रूपमा कायम गरिदियो । २८ फागुन, ७ चैत, २०७७ मा एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना गरियो । बैठकमा नव केन्द्रीय सदस्यहरूलाई बोलाइएन ।

‘हालसम्मका कुनै पनि बैठकले उहाँहरूको विषयमा केही बोलेका छैन,’ केन्द्रीय सदस्य देवेन्द्र दाहाल भन्नुहुन्छ, ‘तर उहाँहरूलाई व्यवस्थापन गर्ने गरी पार्टीले केही नीति बनाउँछ ।’

७ चैत, २०७७ केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले ति केन्द्रीय सदस्यहरूको विषयमा खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले नव केन्द्रीय सदस्यहरूलाई ‘ढडेलो पछिका पालुवा’को संज्ञा दिँदै उनीहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।

‘हामीले मनोनयन गरेका ती केन्द्रीय सदस्यहरू पार्टीमा ठूलो ढडेलो लागिसकेपछि पलाएका पालुवा हुन् । उनीहरूलाई उचित जिम्मेवारी दिनुपर्दछ,’ प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकमा भन्नुभएको थियो ।

सो बैठकले सबै केन्द्रीय सदस्यको कार्यविभाजन र पार्टीको भावी कार्ययोजना बनाउने जिम्मा अध्यक्ष र महासचिवलाई तोकेको छ । ‘अध्यक्ष ओलीको निर्देशनमा महासचिव  ईश्वर पोखरेल नव केन्द्रीय सदस्यलाई राष्ट्रिय प्रतिनिधि परिषदमा समायोजन गर्ने प्रस्ताव तयार गर्दै हुनुहुुन्छ’ पोखरेल निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले भनेका ति पालुवाहरूलाई अहिले पार्टीका कुनै निकायमा नसमेट्ने हो भने उनीहरूमा नैराश्यता आउछ । मनोवल बचाइराख्न पनि उनीहरूलाई सम्बोधन गर्नै पर्ने हुन्छ ।’

एमालेबाट त्यसबेला करिब १ हजार ५ सय केन्द्रीय सदस्यहरू तोकिएका थिए । तर, माओवादीबाट प्रधानमन्त्रीलाई साथ दिएका गृहमन्त्री रामबहादुर थापाको समूहले पनि कम्तीमा ५ सय नेतालाई केन्द्रीय सदस्य बनाउन माग गरिरहेका थिए । बादल सहितका नेताहरू एमालेमा समायोजन भइसकेपछि पनि उहाँहरूको त्यो माग यथावत छ । स्रोतका अनुसार पूर्व माओवादीबाट पनि करिब ५ सय सदस्य थपेर प्रतिनिधी परिषद करिब २ हजार १ सय जनाको बनाउने तयारी भएको स्रोतको दाबी छ ।

के हो प्रतिनिधि परिषद् ?

नेकपा एमालेको विधान २०४९ को संसोधन २०७१ मा प्रतिनिधि परिषदको व्यवस्था गरिएको छ । पार्टीका छ वटा केन्द्रीय निकायमध्ये परिषदको स्थान तेस्रो वरियातामा छ ।

विधानको धारा १५ मा यस सम्बन्धी व्यवस्था गरिएको छ । एमालेको विधानअनुसार परिषद सदस्यहरू विधान महाधिवेशनका प्रतिनिधि हुन् । यसले पार्टीको विधान परिवर्तन गर्ने, संशाेधन गर्ने हैसियत राख्दछ । दुई महाधिवेशनको बीचमा विधान महाधिवेशन गर्ने व्यवस्था विधानमा उल्लेख छ ।

परिषदको बैठक हरेक १८ महिनामा कम्तीमा एक पटक बस्नुपर्ने प्रावधान छ । विधानमा परिषदका पाँच वटा काम तोकिएको छ । जसमा केन्द्रीय कमिटीका, केन्द्रीय आयोग आदिका तर्फबाट प्रस्तुत भएका प्रतिवेदनमा चित नबुझे सुधार गर्न निर्देशन दिनसक्ने व्यवस्था गरिएको छ ।