काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेपछि उपत्यकाका तीन वटै प्रशासनले सार्वजनिक ठाउँमा भीडभाड नगर्न, होली पर्वलाई घरमै मनाउन आग्रह गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक ठाउँ तथा गाडीमा हिँड्दा अनिवार्य मास्क, स्यानिटाइजर र सामाजिक तथा भौतिक दूरी कायम नगरे कारबाही गर्ने जनाएको छ ।
भक्तपुर जिल्ला प्रशासनले पनि सार्वजनिक ठाउँमा भीड नगर्न, जात्रा, मेला, सांस्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले पहिले सञ्चालित क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न स्वास्थ्य युनिटहरूलाई निर्देशनसमेत दिएको छ ।
ललितपुर प्रशासन कार्यालयले मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । साथै, प्रशासनले रात्रीकालीन व्यवसाय राति ११ बजेपछि सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया